मेलम्ची मुहानमा एमालेको टोली, प्रभावितका माग सम्बोधन गराउने उपाध्यक्ष पाण्डेको प्रतिवद्धता

सिन्धुपाल्चोक। नेकपा (एमाले)ले मेलम्ची खानेपानी परियोजनाको मुहान क्षेत्र र आसपासको स्थलगत अवलोकन गरेको छ ।

हेलम्बु गाउँपालिका –१ अम्बाथानस्थित मेलम्ची खानेपानीको मुहान स्थलमा नै पुगेर एमालेको टोलीले स्थलगत अवलोकन गरेको हो । उपाध्यक्ष सुरेन्द्र पाण्डेको नेतृत्वमा एमालेको खानेपानी विभागको टोलीले मेलम्ची खानेपानी परियोजनाको स्थलगत अवलोकन गरेको हो ।

अवलोकनका क्रममा स्थानीयसँग भेटघाटमा उपाध्यक्ष पाण्डेले मेलम्ची अयोजना तथा २०७८ सालमा आएको बाढीबाट प्रभावित बनेका स्थानीयका माग सम्बोधन गर्न एमालेले पहल गर्ने बताउनुभयो । उहाँले बाढी प्रभावित स्थानीयको बसोबास र खेतीपातीका लागि सरकारले पहल गर्नुपर्ने बताउँदै यसका लागि एमालेले संसदमा समेत आवाज उठाउने बताउनुभयो ।

मेलम्ची खानेपानी तथा बाढी पिडित संघर्ष समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष पाण्डेले बाढीबाट प्रभावित स्थानीयका जायज माग सम्बोधन गराउन पार्टीले अधिकतम् पहल गर्ने प्रतिवद्धता जनाउँदै आगामी आर्थिक वर्षको बजेटबाट नै मेलम्ची र हेलम्बु क्षेत्रका बाढी र आयोजना प्रभावितका माग सम्बोधन हुने गरी बजेट निकासाका लागि पहल गर्ने बताउनुभयो । उहाँले खानेपानी, शहरी विकास, भौतिक पूर्वाधार, गृह र अर्थ लगायत सरोकारवाला सबै मन्त्रालयको ढोका ढोकामा स्थानीयलाई लिएर एमाले पुग्ने समेत बताउनुभएको छ ।

‘तपाईहरुले काठमाडौंलाई पानी दिन्न भन्नु भएको पक्कै होइन, तपाईहरुका आफ्ना समस्या छन्, बाढीले सिर्जना गरेको समस्यामा तपाईहरु पर्नु भएको छ, यसकारण तपाईहरुले उठाउनु भएका माग जायज छन्’ उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘तपाईहरुका जायज माग सम्बोधन गराउन नेकपा एमालेले नेतृत्वदायी भूमिका खेल्छ । खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र विपद व्यवस्थापनको कुरा समेत जोडिएकाले गृह मन्त्रालयको ढोकामा पुगेर तपाईहरुका माग राख्ने कामको नेतृत्व हामी लिन्छौँ । यी सबै कामका लागि बजेट निकासा गर्ने मन्त्रालय अर्थ मन्त्रालय हो, अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट तयारीमा छ, यसकारण चैत लागेपछि काठमाडौं आउनुहोस्, बृहत् छलफल गरेर अघि बढौँ ।’

अवलोकनमा पुग्नु भएकी राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी एमाले खानेपानी तथा सरसफाइ विभाग प्रमुख बिमला घिमिरेले मेलम्ची खानेपानी परियोजनालाई राजधानी काठमाडौं उपत्यकाको दीर्घकालिन खानेपानीको स्रोतका रुपमा लैजान र यहाँका स्थानीयको भावना र माग के कसरी सम्बोधन गर्न सकिन्छ भनेर पार्टीले स्थलगत अवलोकन भ्रमण गरेको बताउनुभयो ।

टोलीमा एमालेबाट निर्वाचित संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेश सभा सदस्य अमन कुमार मास्के, रघुनाथ महर्जन, जयराम थापा, केशवप्रसाद पोखरेलसहित एमाले खानेपानी विभागका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुभएको थियो ।

अनुगमन तथा अवलोकनका लागि मेलम्ची खानेपानी परियोजनाको मुहान क्षेत्रमा पुगेको टोलीलाई एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी, मेलम्ची नगर कमिटी र हेलम्बु गाउँपालिका कमिटी लगायतका नेता कार्यकर्ताले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : ३८ बजे