साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कपिलवस्तुमा देखिए तीन पाटेबाघ

​​​​​​​कपिलवस्तु । जिल्लामा तीनवटा पाटेबाघ देखिएका छन् । एकैपटक धेरै संख्यामा देखिएको यो पहिलो पटक हो । ११ दिनको फरकमा ३ वटा बाघ देखिएका हुन् । दुई वटा वयस्क भाले र एउटा लिंग पहिचान हुन नसेको बाघ देखिएको हो । चारवटा देखिए पनि तीनवटा फरक रहेको पुष्टि भएको छ । एउटाका विषयमा अनुसन्धान भइरहेको छ ।

सबैभन्दा पहिला जिल्लाको सुदूरपश्चिम विजयनगर गाउँपालिका–१, गोबरहवा आसपास वन क्षेत्रमा एउटा वयस्क पाटेबाघ क्यामरा ट्र्यापमा परेको थियो । उक्त बाघ पुस १४ गते बिहान ५ बजेर १६ मिनेटमा क्यामरामा कैद भएको हो । त्यस्तै ४ दिनपछि नै विजयनगरमा अर्को वयस्क बाघ क्यामरा ट्र्यापमा परेको थियो ।

उक्त बाघको पुस १९ गते राति ११ बजे २३ मिनेटमा स्वचालित क्यामराले तस्बिर लिएको थियो । तर, यो एउटै हो वा फरक हो, त्यसको कम्प्युटर एनालाइसिस गरेर छुट्याउने काम भइरहेको डिभिजन वन कार्यालय गौतमबुद्धको डिभिजनल प्रमुख बेसिन्द्रराज सुवेदीले बताए ।

त्यस्तै अर्को दुईवटा बाघ भने बुद्धभूमि नगरपालिकाको गब्दहवा आसपासका चुरे वनमा देखिएको छ । एउटा पुस २३ गते राति ९ बजेर ४४ मिनेटमा र अर्को पुस २४ गते बिहान ६ बजेर २८ मिनेटमा क्यामरा ट्र्यापमा परेको थियो ।​​​​​​​

यहाँ देखिएका दुई बाघ फरक हुन् । एउटा भाले र अर्कोको लिंग पहिचान हुन सकेको छैन । यी चारै बाघका फरक ग्रिडमा तस्बिर खिचिएको छ । ‘विजयनगरमा भेटिएका दुई बाघलाई एउटै संख्या गणना गरेका छौं,’ डिभिजनल प्रमुख सुवेदीले भने, ‘आधिकारिकता प्रमाणित भएर आए संख्या बढ्न पनि सक्छ ।’ कम्तीमा ३ वटा बाघ देखिएको उनले बताए ।

बाघ लगायतका स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणको काम गर्न क्यामरा ट्र्यापिङ गरिएको थियो । दाङ, अर्घाखाँची र कपिलवस्तुका घना वन र चुरे शृंखला आसपासका पारिस्थितिकीय अवस्था थाहा भई पर्यापर्यटन र दिगो वन व्यवस्थापनका काम गर्न अध्ययन अनुसन्धान गर्ने उद्देश्यले क्यामरा ट्र्यापिङ गरिएको हो । सम्मफाँटदेखि पहाडका वनपथमा क्यामरा ट्र्यापिङ गरिएको थियो ।

डब्लूडब्लूएफ नेपालको सहयोगमा तराई भूपरिधि कार्यक्रम (ताल) बाँकेद्वारा तीन जिल्लामा १ सय ८१ अत्याधुनिक स्वचालित क्यामरा राखिएको थियो । क्यामरा राखेको पहिलो दिनमै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, गब्दहवा गाउँनजिकै वन क्षेत्रबाट हुँदै आवतजावत हुने मुख्य बाटोमा वयस्क चितुवा क्यामरा ट्र्यापमा परेपछि संरक्षणकर्मी निकै उत्साहित बनेका थिए । त्यसपछि अहिले बाघ देखिंदा संरक्षणकर्मी झन्  खुसी बनेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ६ : ३० बजे