‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वीरगन्जका मेयरद्वारा आफ्ना दुई श्रीमती भएको बयान

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नी कान्छी श्रीमतीबाट जन्मिएकी रुविना श्रेष्ठलाई नागरिकता दिलाएको बयान दिएका छन् । मेयर सिंहमाथि झूटो विवरण पेस गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको आरोप लाग्दै आएको छ । उनीविरुद्ध गत पुस २४ मा जिल्ला अदालतमा जाहेरी परेको थियो ।

नागरिकतासम्बन्धी उजुरीमाथि छानबिन गर्न गठित गृह मन्त्रालयका उपसचिव पुष्कर राना संयोजकत्वको टोलीसमक्ष मेयर सिंहले गत माघ २७ मा यस्तो बयान दिएका हुन् । मौखिक र लिखित सोधपुछ कागज गर्ने क्रममा मेयरले यस्तो बयान दिएको सोधपुछमा संलग्नमध्येका एक पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

‘आफू रुविना श्रेष्ठको नक्कली बाबु नभई सक्कली बाबु भएको मेयरले स्पष्ट पारेका छन्,’ सहायक प्रजिअ लम्सालले भने, ‘मेयरले आफ्नो एउटा नभई दुईवटा श्रीमती भएको र त्यो कुरा गोप्य राखेको बताएका हुन् ।’ मेयर सिंहले रिता भट्टराई आफ्नी कान्छी श्रीमती भएको तर त्यो कुरा गोप्य राखेको बताएको लम्सालले खुलाए । गृहको टोलीले मेयर सिंहसँग सोधपुछ कागजसमेत गराएको छ ।

मेयरले गृहको टोलीसँग कान्छी श्रीमती भएको स्वीकार गरेको भोलिपल्ट माघ २८ मा रीता भट्टराईले पर्सा जिल्ला अदालतमा उनीविरुद्ध सम्बन्धविच्छेद र अंशको मुद्दा दायर गरिन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० की रीताले अदालतमा पेस गरेको फिरादपत्रमा मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको तर सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गरेकी छन् ।

आफ्नो सन्तान रुविनाको बाबु बनेर सम्पूर्ण भरणपोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोही आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने फिरादपत्रमा दाबी गरिएको छ । ‘प्रतिवादी राजेशमान सिंहकी सार्वजनिक भएकी पत्नी अन्नपूर्ण नै हुन् । म फिरादीले सिंहसँग प्रेमविवाह गरेका कारण प्रकाशमा नल्याए पनि मेरो शरीरबाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाणपत्र एवं नागरिकता मेयर सिंहले नै बनाइदिएकाले पनि म निजकै पत्नी भएको तथ्य स्पापित हुन्छ,’ रीताले दायर गरेको फिरादपत्रमा उल्लेख छ ।

यहीबीच माघ २९ मा मेयर सिंहकी दोस्रो श्रीमतीले अदालतमा पेस गरेको कागजात फर्जी रहेको भन्दै वीरगन्ज– ३ निवासी लियाकत अलीले प्रशासनमा जाहेरी दर्ता गराएका छन् । किर्ते नागरिकता प्रकरण जोगाउन रीता भट्टराईले अदालतमा दायर गरेको फिरादपत्रमा पेस भएको सरकारी कागजात फर्जी भएको जाहेरीमा उल्लेख छ । जाहेरीमा भनिएको छ, ‘विपक्षीले झूटा विवरण पेस गरी किर्ते तवरले जन्मदर्ता प्रमाण सिर्जना गरी सोही जन्मदर्ता प्रमाण सरकारी अड्डा, जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरी विपक्षी राजेशमान सिंह तथा रुविना श्रेष्ठले नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानी दिलाउने र लिने कार्य गरेकाले मुलुकी अपराध संहिता, २०७४ बमोजिम विपक्षीहरुलाई अविलम्ब पक्राउ गरी हदैसम्मको दण्ड सजाय गरी पाऊँ ।’

गृहको छानबिन टोलीमा संलग्न रहेका पर्साका सहायक प्रजिअ लम्सालले मेयर, वीरगन्ज–३ का वडाध्यक्ष र कार्यवाहक वडाध्यक्षसँग टोलीले मौखिक सोधपुछ र कागज गराएको बताए । जिल्ला प्रशासनमा कार्यरत दुई जना कर्मचारीसँग पनि टोलीले सोधपुछ कागज गराएको उनले जनाए । 

कानुनी जानकारहरुका अनुसार मेयर सिंहमाथि नक्कली बाबु बनेर नागरिकता दिलाएको मुद्दा अहिले छायामा परेको छ । ‘अर्काकी छोरीलाई बाबु बनेर नागरिकता दिलाएको आरोप खेपिरहेका मेयर सिंहले दोस्रो श्रीमती स्वीकार्नु र दोस्रो श्रीमतीले सम्बन्धविच्छेद तथा अंश मुद्दा अदालतमा दर्ता गरेपछि नक्कली बाबुको आरोप छायामा परेको हो,’ नाम उल्लेख नगर्न भन्दै एक अधिवक्ताले भने, ‘फर्जी जन्मदर्ताको अनुसन्धानले भने के परिणाम देखाउँछ, त्यो अहिले भन्न सकिंदैन ।’

सम्बद्ध स्रोतका अनुसार नागरिकतासम्बन्धी मुद्दा प्रशासनसँगै अख्तियार दुरुपयोग तथा अनुसन्धान विभाग, गृह मन्त्रालय र अदालतमा समेत दायर भएपछि जिल्ला प्रशासन अहिले माथिल्लो निकायको निर्देशन कुरेर बसेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : १४ बजे