मकवानपुरमा मिटरब्याज पीडित र स्थानीयबीच झडप, २१ जना घाइते

मकवानपुर । मकवानपुरमा न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच झडप भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा भएको झडपमा २१ जना घाइते भएका छन् ।

मिटरब्याजको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू गत १६ गतेबाट पूर्वको काँकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्चमा निस्किएका हुन् । यसै क्रममा काँकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको हो । त्यसक्रममा झडप भएको उहाँले बताउनुभयो । 

घटनाको बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी विष्णु केसीले पनि पुष्टि गर्नुभयो । झडपमा घाइते हुनेहरूमा धेरैजसो मिटरब्याज पीडित छन् भने केही स्थानीय समेत रहेका छन् । झडपमा घाइते भएकाहरूलाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ४७ बजे