राजमार्गमा दृष्य एक, पीडा अनेक

पाल्पा जिप दुर्घटना : मृतकमध्ये चार जनाको पहिचान खुल्यो

तानसेन । पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका-६ चिदिस शिखरडाँडा जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थमै ८ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्। बेलुका करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भइ दुर्घटना भएको थियो। 

तिनाउ गाउँपालिका-६ का वडासदस्य स्थानीयबासी ज्ञानबहादुर अस्लामीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, माइतीमा आएकी दिल कुमारी अस्लामी रहेको र अन्य चार जना पहिचानको क्रममा रहेको बताए पनि जिल्ला प्रहरी कार्यालयबाट भने पुष्टि भएको छैन। मृतकमध्ये ५ जना महिला र ३ जना पुरुष छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले मृतकको पहिचानको लागि काम भइरहेको बताए।

घाइते १८ जनामध्ये १० जना महिला, ४ जना बालक, ३ जना बालिका र १ जना चालक छन्। घाइते सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ। लुम्बिनी मेडिकल कलेज पाल्पाले दिएको जानकारीअनुसार घाइते हुनेहरूमा पाल्पा तिनाउ ६ की २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार,  ६६ वर्षीया विष्णुकला कामी, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटी र अन्य १ जना पुरुष, १ जना महिला र १ जना बालिका गरी १८ जना उपचार भइरहेको छ। 

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ। श्रीपञ्चमीको पर्व मनाउन विभिन्न ठाउँबाट पाहुना तथा चेलीबेटीहरू जिपमा रहेको स्थानीबासीहरूको भनाइ छ। 

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : १४ बजे