साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रचण्डको ’जनयुद्ध’ र महराको ’फर्गेट एस्टरडे’

काठमाडौँ ।  एमालेलाई धोका दिएको नेपाली कांग्रेससँग पूर्णरूपेण लगनगाँठो गाँसी नसकेको मौका छोपी प्रधानमन्त्री तथा माओवादी सुप्रिमो प्रचण्डले माओवादी सशस्त्र विद्रोह सुरू गरेको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिने सरकारी निर्णय गराएका थिए । तर सर्वोच्च अदालतले त्यो निर्णयलाई खारेज गरिदिएको छ । सर्वोच्चको यो फैसलासँग प्रधानमन्त्री र माओवादी डफ्फा अहिले असन्तुष्ट छ । 

 माओवादीले आफ्नो पात्रोमा सबैभन्दा बढी हाई लाइट गरेको मिति अर्थात् ‘जनयुद्ध’ दिवस । घटना एक बुझाइ फरक फरक । कसैलाई यो सयका सय ठिक लाग्छ, कसैलाई पचास प्रतिशत ठिक र पचास बेठीक लाग्छ र कसैलाई सयका सय बेठीक लाग्छ । अर्थात् युद्धमा होमिएका केही माओवादीलाई यो शतप्रतिशत ठिक लाग्छ, बहुसङ्ख्यक नेपाली जनतालाई बेठीक ।

अनि कसैलाई यो हर्षोल्लासका साथ मनाउनु परेको छ किनभने त्यसैमा आफ्नो जीवन छ । र, कसैलाई यो देख्दै ऐँठन हुन्छ किनभने त्यहाँ उसको जीवन थिएन, छैन र हुनेछैन । 

‘जनयुद्ध’ निरपेक्ष हिंसा थियो कि निरपेक्ष क्रान्ति ? यो प्रश्नको उत्तर सहज छैन । यो प्रश्नको उत्तर न्यायाधीशको किस्सा जस्तो सधैँ बनाउन सकिँदैन, हुँदैन । न्यायाधीशको किस्सा यस्तो छ: एउटा मुद्दामा बहस चल्दै थियो । एक दिन न्यायाधीशको घरमा सोही मुद्दाका वादी वकिल आए र आफ्नो दलिल पेस गरे । अन्त्यमा न्यायाधीशले भनेः“तपाईँको कुरा ठिक !” एक छिन पछि प्रतिवादी वकिल आएर आफ्नो दलिल पेस गरे ।  न्यायाधीशले अन्त्यमा भने :“तिम्रो कुरा ठिक !”वकिल गइसकेपछि खाना खादै गर्दा न्यायाधीशकी श्रीमतीले कुरा कोट्याइछिन् “हैन हजुरले वादी प्रतिवादी दुबैलाई “तपाईँको कुरा ठिक भनेर पटाइदिनु भयो । एउटा मुद्दामा वादी प्रतिवादी दुवै त ठिक नहोलान् नि !”न्यायाधीशले श्रीमतीलाई उही उत्तर दोहोर्‍याए :“तिम्रो कुरा ठिक !”

हो, जनयुद्धलाई हेर्ने मामिलामा सबैको एउटै बुझाई अपेक्षित छ । आफूले विगतमा कमाएर ल्याएको नेकपा(माओवादी केन्द्र) को यो सम्पत्ति जत्ति हो त्यत्तिकै हिसाब किताब कुनै बेला होला । त्यतिबेला हाल ‘जनयुद्ध’लाई अनावश्यक बढाई चढाई गर्नेहरु र यसलाई बिलकुलै अवमूल्यन गर्नेहरुले पराजय बेहोर्नु पर्ने होला । ‘जनयुद्ध’को अति मोह र अति पूर्वाग्रह दुवै त्याज्य छन् । 

 पूर्वीय महान् द्रष्टा चाणक्यले विगत, वर्तमान र भविष्यबारे कालजयी धारणा व्यक्त गरेका छन् । उनी भन्छन्ः

“गते शोक नकर्तव्यं भविष्य नैव चिन्तयत् ।

वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणा ।।”

जनयुद्ध विगत हो, वर्तमान होइन । विगतले वर्तमानलाई अनावश्यक प्रभाव पारिरह्यो भने भविष्यको यात्रा नराम्ररी प्रभावित हुन्छ । विगतमा फरक फरक पार्टी अस्तित्वमा हुँदाका मान्यतामै अडिएर कहीँ पुगिँदैन । माओवादी सशस्त्र विद्रोह करिब दुई दशक पहिले नै समाप्त भएको हो । युद्ध शान्तिमा रूपान्तरण भएको हो। त्यसकारण त्यसलाई अहिले पनि जयजयकार गरिनु, उत्सव मनाउनु ओचित्यपूर्ण छैन । विद्रोहमा अकारण ज्यान गुमाएका, अङ्गभङ्ग भएका र परिवारको विचल्नी भएका जनताको खाटा बस्न थालेको घाउमा नुनचुक छर्केर अबको नेपाली समाजलाई केही फाइदा हुँदैन। त्यो कहालीलाग्दो विगत पूर्णरूपमा बिर्सनु श्रेयस्कर हुन्छ । अत्यन्त फरक प्रसङ्गमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले भनेको एक वाक्यांश यहाँ बहुत ठ्याक्कै मिल्छ-“फर्गेट एस्टरडे।”

कम्युनिस्टलाई अरुसँग फरक बनाउने धेरै विषय छन् । ती मध्ये सबभन्दा प्रमुख हो: तिनीहरु द्वन्दवादी हुन्छन् । उनीहरु हरेक वस्तु, घटना र प्रक्रियालाई विभिन्न कोणबाट विश्लेषण गर्छन् । सकारात्मक र नकारात्मक पक्ष केलाउँछन् र निर्क्योल गर्छन् । नेकपा(माओवादी केन्द्र) यदि कम्युनिस्ट पार्टी हो भने उसले जनयुद्धलाई हेर्ने दृष्टिकोणमा बदलाव ल्याउन द्वन्दवादको प्रयोग नगरी सुखै छैन । 

सबैलाई थाहा छ-नेकपा(माओवादी केन्द्र) सैद्धान्तिक, वैचारिक, सांगठानिक र व्यवहारिक हिसाबले नकारात्मक संक्रमणबाट गुज्रिरहेको छ । ऊ माओवादबाट संसदवादमा र त्यो पनि विकृत संसदवादमा आइपुगेको छ । उसलाई सहवास जोसुकैसँग गर्नु परोस्, सत्तामा टिकिरहनु वा टाँसिइरहनु परेको छ । सत्ताका लागि ऊ जे गर्न पनि तयार छ । केही समयमात्र सत्तामा बसेन भने उसको अस्तित्व सङ्कटमा पर्छ । अनि बाहिरी आवरणमा आडम्बरी क्रान्तिकारिताको के अर्थ हुन्छ ?

यो सम्बन्धमा सर्वोच्च अदालतको गरेको फैसला स्वागत योग्य छ किनभने जसले माओवादी सशस्त्र विद्रोहलाई जनयुद्धको रूपमा नमान्ने बहुसङ्ख्यक नेपाली जनतामाथि जबरजस्ती दिवस थोपर्ने प्रपञ्च थियो। यो विद्रोहको इतिहास नेकपा(माओवादी केन्द्र)को दराजमा सजाउने सुन्दर किताब हुनसक्छ, तर वर्तमानको लागि चाहिँ पल्टाईरहन पर्दैन । 

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : १८ बजे