नवलपरासी । नवलपरासीमा हजुर बुवा र नाति एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजको नाति वर्ष ११ को गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
नारायणी नदीको ५ नम्बर ठोकरदेखि ५ सय मिटरको दुरीमा बिगत ४-५ वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेतीपाती गर्दै आइरहेका थिए ।
उनका छोरा बुहारी दुई नाति र एक नातिनी रहेकोमा मृतक नातिलाई हजुरबुवासँगै छोडेर बुहारी एक डेढ महिनादेखि आफ्नो माईती भारत गएको बताइएको छ ।
मृतक यक्षलालका छोरा रोजगारीको शिलशिलामा गएपछि बुहारी माइत गएकी थिइन् ।
आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुबैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
अहिले घटना स्थलमा प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरि अनुसन्धान भइरहेको सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार १२ : ५५ बजे
प्रतिक्रिया