शिक्षा क्षेत्रको समग्र सुधारका लागि विराटनगरमा विद्यार्थी दबाब यात्रा

​​​​​​​विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले विराटनगरमा विद्यार्थी दबाब यात्रा निकालेको छ । परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विद्यार्थी दबाब यात्रा निकालेको हो ।
       
दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको परिषद्की कोशी  प्रदेश सह–सचिव मुन बिष्टले बताइन् । उनले नैतिक शिक्षा लागू गरी युवा विद्यार्थीहरूमा स्वदेश प्रेम बढाई राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति तयार गर्न विशेष प्रयास गर्नुपर्ने बताइन् ।

विद्यार्थी दबाब यात्रालाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने परिपाटीको अन्त्य हुनुपर्ने बताए । यहि कारणले शिक्षाक्षेत्र धारासायी भएको पनि उनले बताए ।


उनले शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने, प्रवेश, परीक्षा, परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने उल्लेख गरे । माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निःशुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने बताए । यस्तै क्याम्पस, विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने उनको भनाइ थियो ।

यसैगरी विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विवस कटुवालले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी विद्यालयमा पढाउनु पर्ने बताए ।

ट्राफिक चोकबाट सुरु भएको विद्यार्थी दबाब यात्रालाई महानगरको विभिन्न ठाउँको परिक्रमा गराउँदै महेन्द्र चोकमा समापन गरिएको थियो ।

दबाब यात्रामा विराटनगरका १४ वटा शैक्षिक संस्थाका विद्यार्थीसहित परिषद्का कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ४८ बजे