एमालेको सचिवालय बैठक सुरु

सिंगो गाउँ जहाँ अस्पताल होइन जडीबुटीमाथि विश्वास छ

​​​​​​​महोत्तरी । महोत्तरी बर्दिवास–४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ । रुघाखोकी, प्रेसर, सुगर जस्ता रोगहरु लागेपछि सोलीघोप्टे वरपरको जंगलमा गाँउलेहरू जडिबुटीजन्य बनस्पति खोज्न धाउने गरेको पोखरेल अहिले पनि सम्झन्छन । उनलाई अझै पनि अस्पताल र स्वास्थ्य चौकीको बिस्वास नै लाग्दैन, बरु चिकित्सकहरुको लापरवाहीका घटनाहरु र गलत औषधिको प्रयोगले ज्यान गएको समाचार सुन्दा अचम्म लाग्छ ।

‘यो समाज कता जाँदैछ ? हामी किन हाम्रै घरआगनमा भएका औषधि प्रयोग गर्न हिच्किच्याईरहेका छौ ?’ पोखरेल प्रतिप्रश्न गर्छन् । ६० बर्षीय पोखरेल मात्र हैन बर्दिवास–४ कै अर्का स्थानीय टेकबहादुर डीमडम पनि स्थानीय सरकार तथा सरोकारवाला निकायको वेवास्ताप्रति चिन्ता ब्यक्त गर्छन् । ‘हाम्रो सोलीघोप्टे जंगलमा मात्र सय भन्दा बढी जातका जडिवुटी पाईन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारि छ,’ डीमडमले भने, ‘जडिवुटी हवको रुपमा विकास गर्न सकिने यस्ता ठाउँ स्थानीय सरकारको वेवास्तामा पर्नुले झन् दुःख लाग्छ ।’

२०३६ सालदेखि यही ठाँउमा बसोबास गर्दै आएका पूर्व वडा अध्यक्ष तथा स्थानीय दिपवहादुर कार्की रचनात्मक व्यवस्थापन गर्न सक्ने जनप्रतिनिधिको अभावले नै यस्ता ठाउँहरु ओझेलमा परेको बताउँछन् । आफू वडा अध्यक्ष हुदा समेत जडीबुटी हवको रुपमा विकास गरी वातावरणीय पर्यटन प्रवर्द्धन गर्न निक्कै कोशिस गरेको बताउँदै स्थानीय सरकारको वेवास्ताको सिकार बनेको जिकिर गर्छन् ।

उनी आफैले पनि यस जंगलको कयौ जडिबुटीहरुको प्रयोग गरी रोग निको बनाउँदै आएका छन् । पायलस, फिस्टुला, झाडापखाला, पिनास, ज्वरो जस्ता सामान्य रोगको लागि अस्पताल वा स्वास्थ्य चौकी अहिलेसम्म नगएको बताउँछन् । ‘म मात्र हैन गाँउ नै जडीबुटीको प्रयोग गरेर स्वस्थ बन्दै आएका हुन् ।’ उनले भने, ‘अब स्थानीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी दिगो आयआर्जनको विकास गर्नुपर्छ ।’ आयुवेर्दिक चिकित्सक इन्द्र महतो पनि जडिबुटी नै जडिबुटी पाईने यो क्षेत्रलाई जडिबुटी हवकोरुपमा विकास गर्नुपर्ने तर्क गर्छन् । सनिवार बर्दिवास उद्योग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागी भएका चिकित्सक महतोले गौशाला नगरपालिकामा रहेको आयुवेर्दिक कलेजलाई सोलीघोप्टे जंगलसँग जोडन सकिने धारणा राखे ।

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जंगलमा पाइने जडिबुटी र मनोरम प्राकृतिक दृश्यहरुलाई पर्यटनसँग जोडेर पर्यटकीय केन्द्रकोरुपमा समेत विकास गर्नुपर्नेमा जोड दिए । ‘सोलीघोप्टे पहाड उक्लेर चुचुरामा पुग्दा छुट्टै आनन्द प्राप्त हुदो रहेछ’, उनले भने । ‘नजिकै रहेको बहुचर्चित पंचधुरामाई मन्दिरलाई जोडेर चुरे पदयात्राको रुपमा समेत विकास गर्न सकिने आधारहरु देखियो ।’

बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले केही दिनदेखि पर्यटकीय गन्तव्यको खोजी गरेको बताउँदै नगर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाँउहरुको पहिचान गरी प्रतिवेदन समेत तयार गरिरहेको वताए । ’सोलीघोप्टे जंगललाई जडिबुटी हवकोरुपमा विकास गर्न सकिने पहिचान गरेका छौं ।’ उन्ले भने, ‘बर्दिवास नगरको उत्तरी क्षेत्रका चुरे काक्षमा हामीले सम्भावनाहरु खोजी गरिरहेका छौ, देखिएका र सम्भावित गन्तव्यहरुलाई कसरी पर्यटनसँग जोडन सकिन्छ भन्ने अर्को गृहकार्य पनि भईरहेको छ ।’

वि.सं. १९९४ सालमा वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने उद्देश्यले वनस्पति गोश्वाराको स्थापना भएको थियो । त्यसपश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण तथा दिगो विकास गर्ने उद्देश्यले वि.सं. २०१६ सालमा वनस्पति विभागको पनि स्थापना भयो । वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभागका कर्मचारीहरु परिचालन गरी अहिले कार्य सञ्चालन हुँदै आएको छ तर उचित ध्यान पुर्‍याउन नसक्दा सोलीघोप्टे जस्ता जंगलहरु संरक्षणको पर्खाईमा छन् । अझ प्रकृति संरक्षण एवं सदुपयोगको मान्यताअनुरूप पूजा गर्दा प्राणी, वनस्पतिलगायत सम्पूर्ण चराचर जगतको शान्तिको कामना गर्दै …अन्तरिक्षः शान्तिः, … वनस्पतय शान्तिः…” मन्त्रोच्चारण गर्ने परम्परा छ । जसले जडिबुटीजन्य बनस्पतिको महत्व र आवस्यकतालाई प्रमाणित गर्दछ ।

न्यूज कारखाना

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ३२ बजे