‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा, सहकारीको हार्डड्राइभ नियन्त्रणमा

काठमाडौं ।  नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको संशमुलस्थित घरमा प्रहरीले छापा मारेको छ। जोशीको नाममा रहेको काठमाडौंको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिस थियो। सोही अफिसमा प्रहरीले छापा मारेको हो।  

पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका मुख्य नाइके जीबी राई (गितेन्द्रबाबु) का साझेदार थिए पूर्वडीआईजी जोशी। उनीहरु दुईकै साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो। 

उनै पार्टनरको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारी सम्पूर्ण सूचना भएको सफ्टवेयर राखिएको सूचनापछि प्रहरील छापा मारेको हो। 

सहकारी सम्बन्धी सम्पूर्ण सूचना तथा कारोबार भएको सर्भर उक्त घरमा राखिएको भन्ने विशेष सूचनाको आधारमा छापा मारिएको प्रहरी स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार साँझ छापा मारेको हो। प्रहरी परिसर काठमाडौंले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको हो ।प्रहरी स्रोतका अनुसार उक्त घरबाट चार वटा सर्भर  बरामद गरिएको  छ।  

गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर कायम हुँदा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत सेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । 

जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जसमा चार जना पक्राउ परेका छन्, बाँकी फरार छन् । फरारमध्ये जीबीसहित तीनविरुद्ध डिफ्युज नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै उनलाई फरार सूचीमा राखिसकेको छ । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ३२ बजे