‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संसार ‘अराजकताको युग’ मा छ: राष्ट्रसङ्घ प्रमुख

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको र गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको चेतावनी दिनुभएको छ । 

बुधबार गाजा युद्ध पाँचौँ महिनामा प्रवेश गरेसँगै गुटेरेसले इजराइली सशस्त्र बलले दक्षिणी सहर राफामा दबाब दिए यसले ‘अनपेक्षित क्षेत्रीय परिणामहरूका साथ पहिला नै मानवीय दुःस्वप्नका रूपमा तीव्र वृद्धि गर्ने’ चेतावनी दिनुभयो । 

अक्टोबर ७ मा अभूतपूर्व आक्रमणपछि हमासलाई समाप्त गर्ने आफ्नो अभियानमा इजराइली सेनाले गाजापट्टीमा लगातार बमबारी र स्थल आक्रमण गरेको छ । इजराइली अभियानबाट १० लाखभन्दा बढी मानिस दक्षिणतर्फ विस्थापित भएका छन् । 

“यो तत्काल मानवीय युद्धविराम र सबै बन्धकको बिनासर्त रिहाइको समय हो”, राष्ट्रसङ्घीय महासभामा आफ्नो सन् २०२४ का प्राथमिकताहरू प्रस्तुत गर्दै एक सम्बोधनमा गुटेरेसले भन्नुभयो । सम्बोधनमा उहाँले अन्य सुधारका अतिरिक्त सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा परिवर्तनका लागि आह्वान गर्नुभयो । उहाँले सेप्टेम्बरमा आयोजना हुने आफ्नो ‘भविष्यको शिखर सम्मेलन’ लाई पहिलाको भन्दा ‘गहिरो र खतरनाक’ समस्या सम्बोधन गर्नका लागि एउटा महत्त्वपूर्ण स्थलका रूपमा बताउनुभयो । 

“राष्ट्रसङ्घीय सुरक्षा परिषद्– वैश्विक शान्तिका सवालमा प्राथमिक मञ्च– भूराजनीतिक दरारका कारण गतिरोधमा छ”, पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसले भन्नुभयो, “परिषद्लाई विभाजित गरिएको यो पहिलो पटक होइन तर यो सबैभन्दा खराब हो, अहिलेको शिथिलता अझ गहिरो र अधिक खतरनाक छ ।”

उहाँले शीत युद्धको समयमा राम्रो तरिकाले स्थापित प्रणालीले महाशक्ति सम्बन्धहरूलाई व्यवस्थित गर्न सहयोग गरेको विपरीत ती प्रणाली आजको बहुध्रुवीय विश्वमा हराएको बताउनुभयो । “हाम्रो संसार अराजकताको युगमा प्रवेश गरिरहेको छ‘ यो सबैका लागि खतरनाक, अप्रत्याशित र पूर्णरूपमा दण्डहीनता हो”, उहाँले चेतावनी दिनुभयो । 

उहाँको उक्त टिप्पणी युक्रेन, सुडान, मध्यपूर्व र अन्य स्थानमा विनाशकारी द्वन्द्वको बीचमा आएको छ । ती द्वन्द्वमा लाखौँ मानिस विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको जरुरत छ । “द्वन्द्व बढ्दै जाँदा वैश्विक मानवीय आवश्यकताहरू अहिलेसम्मको उच्चतम स्तरमा छन् तर कोषले गति लिइरहेको छैन”, महासचिव गुटेरेसले भन्नुभयो । 

यस्तो अँध्यारो पृष्ठभूमिविरुद्ध उहाँले विश्व नेताहरूलाई ‘आगामी वर्षहरूका लागि बहुपक्षवादलाई आकार दिन’ का लागि वार्षिक महासभाको अवसरमा सेप्टेम्बरमा न्युयोर्कमा आयोजना हुने ‘भविष्यको शिखर सम्मेलन’ को अवसरको लाभ लिन प्रोत्साहित गर्नुभयो । 

कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै उहाँले पुनः एकपटक ‘जटिल वैश्विक झटकाहरूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रियामा सुधार गर्न आपत्कालीन मञ्च’ को विकासका लागि आह्वान गर्नुभयो । सन् २०१७ मा पदभार ग्रहण गरेपछि जलवायु परिवर्तनलाई सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएका गुटेरेसले सङ्कट ‘हाम्रो समयको परिभाषित चुनौती बनेको’ दोहोर्याउनुभयो र मानवतालाई ‘पृथ्वीसँग शान्ति कायम गर्न’ आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो, “मानवताले एउटा यस्तो युद्ध लडेको छ जसमा हामी हार्न मात्र सक्छौँ ः प्रकृतिसँग हाम्रो युद्ध । यो एउटा पागलपूर्ण युद्ध हो ।”एएफपी

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : १८ बजे