‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गाजा अस्पतालबाट आठ हजार विस्थापितलाई निकालियो– रेडक्रस

जेनेभा । गाजाको प्रमुख दक्षिणी सहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट करिब आठ हजार विस्थापितलाई निकालिएको रेडक्रसले मङ्गलबार बताएको छ । 

इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी) का प्रवक्ता टोमासो डेला लोङ्गाले पत्रकारहरूसँग भन्नुभयो, “गाजापट्टीमा मानवीय स्थिति भयावह छ ।” उहाँले प्यालेस्टिनी रेड क्रिसेन्ट (पिआरसिएस) ले सञ्चालन गरेको अल–अमल अस्पताल इजराइली सेनाको लामो घेराबन्दीपछि धेरै हदसम्म खाली गरिएको आइसिआरसीलाई जानकारी गराइएको बताउनुभयो । 

“खान युनिसमा हाम्रो प्यालेस्टिनी रेड क्रिसेन्ट अस्पतालमा शरण खोज्ने आठ हजार आन्तरिकरूपमा विस्थापित मानिसले हिजो अस्पताल छाडेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार अल–अमल अस्पताल दुई साताभन्दा लामो समयदेखि व्यापक गोलीबारी र लडाइँले घेरिएको थियो । अस्पतालमा धेरै पटक आक्रमण गरिएको भन्दै उहाँले शुक्रबार भएको आक्रमणमा पिआरसिएसका एक स्वयंसेवक मारिएको जानकारी दिनुभयो । 

करिब एक सय कर्मचारी र स्वयंसेवकसँग करिब एक सय वृद्ध, घाइते र अशक्त बिरामी त्यहाँ रहेको आइसिआरसीले बताएको छ । डेला लोङ्गाले निष्कासनअघि अल–अमल अस्पतालले औषधि, खाना र पानीको चरम अभावलगायत धेरै चुनौतीको सामना गर्नुपरेको बताउनुभयो । “स्टक पुनः भर्न करिब असम्भव थियो”, उहाँले भन्नुभयो । “एसोसिएसनको अल–अमल अस्पताल वरपर लगातार हिंसात्मक बमबारी र गोलीबारी जारी छ”, पिआरसिएसले मङ्गलबार भनेको छ । 

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नजिकैको नासिर अस्पतालमा पनि अवस्था चिन्ताजनक छ । मन्त्रालयका प्रवक्ता असरफ अल–कुद्राले भन्नुभयो, “इजराइली कब्जाले नासिर मेडिकल कम्प्लेक्समा आफ्नो घेराबन्दी बलियो बनाइरहेको छ र यसको परिधिलाई तीव्ररूपमा लक्षित गरिरहेको छ ।”

  उहाँले कम्प्लेक्समा चार सय ५० घाइते, तीन सय चिकित्सा कर्मचारी र १० हजार विस्थापितले एनेस्थिटिक्स र औषधिको ‘चरम अभाव’ को सामना गरिरहेको बताउनुभयो । “इन्धनको कमीका कारण नासिर मेडिकल कम्प्लेक्समा जेनेरेटर चार दिनभित्र बन्द हुनेछन्”, उहाँले भन्नुभयो । उहाँले इजराइली सेनामाथि एम्बुलेन्सको आवागमन रोकेको आरोप लगाउनुभयो । 

चार महिनाअघि युद्ध सुरु भएपछि गाजामाथि इजराइली आक्रमणका क्राममा अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरूमा बारम्बार आक्रमण गरिएको छ । इजराइली सेनाले हमासमाथि चिकित्सा सुविधाहरूलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको आरोप लगाएको छ । हमासले उक्त आरोपलाई अस्वीकार गरेको छ । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ०५ बजे