यस्तो छ आजको विनिमय दर

लाउडाजस्तै कमिसनका लागि दुई वटा न्यारोबडी जहाज भाडामा ल्याउन टेण्डर

काठमाडौँ ।   ५० अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमले  दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान  ‘वेट लिज’मा लिन ग्लोबल टेण्डर गरेको छ।

टेण्डर आब्हान गर्नुअघि निगमको उच्च व्यवस्थापन र संचालकले केही कम्पनीसँग आर्थिक प्रस्ताव समेत मागेर  याे टेण्डर आह्वान गरेकाे स्राेतकाे दाबी छ । कमिशनमा कुरा मिलाइ त्यही प्रस्तावका आधारमा टेण्डर आब्हान गरिएको स्राेतकाे दाबी छ। निगम स्रोतका अनुसार भारतको गो एयरसँग आर्थिक प्रस्ताव मागिएको थियो भने जापान एयरलाइन्सका केही एजेन्टसँग पनि कुराकानी भइसकेको छ।

‘सेटिङ गरेरनै दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागिएको हो। कमिसनका आफूसँग भएको जहाज मर्मत नगरी ग्राउण्डेड गर्ने र भाडाको जहाज ल्याएर निगमलाई आर्थिक रुपमा धरासायी बनाउने योजना हो,’ निगमका एक कर्मचारीले भने, ‘लाउडा काण्ड दोहोर्‍याउन खोजिएको छ।’

२३ वर्षअघि अन्तर्राष्ट्रिय उडानका लागि आफूसँग ३ वटा ठूला जहाज हुँदाहुँदै निगमले अस्ट्रियाको लाउडा एयरसँग बोइङ ७६७ जहाज विना प्रतिस्पर्धा प्रतिघण्टा पाँच हजार अमेरिकी डलर भाडामा ल्याएको थियो। आवश्यक नै नभएको जहाज ल्याएर निगमलाई जानाजान घाटामा पारेर कमिसन खान खोजिएको थियो। अहिले पनि निगमसँग भएको जहाज ग्राउण्डेड गरेर जहाज ल्याउनैपर्ने बाध्यता सिर्जना गरिएको छ।

‘लाउडा र अहिलेको प्रकृति एउटै हो। ३४ अर्ब ऋण खोजेर ल्याएको जहाज थन्क्याएर कमिसनका लागि भाडामा जहाज ल्याउन खोजिएको छ,’ उनले भने,’यस्तो गम्भीर आर्थिक अपराध पनि अख्तियार दूरुपयोगजस्तो निकायले कुनै हस्तक्षेप गरेको छैन।’भाडामा जहाज ल्याउन लागेकोमा ऋण दिने कर्मचारी संचय कोष र नागरिक लगानी कोषले समेत असहमति जनाएका थिए। तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटनमन्त्री सुदन किरातीलाई आर्थिक प्रलोभनमा पारेर भाडामा जहाज ल्याउन लागेका हुन्।

निगमले दैनिक ७ घण्टा उडान ग्यारेन्टी गरेर भाडामा जहाज ल्याउन लागेको हो। चार वटा ठूला जहाज ल्याउन लिएको ३४ अर्ब ऋण तिर्न नसकेर ५० अर्बको भार बेहोरिरहेको निगमलाई थप ठूलो ब्ययभार हुने गरी भाडामा जहाज ल्याउनु  मुलुकै लागि हानिकारक देखिन्छ।

प्रति घण्टा तीन हजार अमेरिकी डलरका दरले वेट लिजमा जहाज ल्याउने गरी टेण्डर गरिएकाे बताइएकाे छ। दैनिक ७ घण्टाका दरले एक महिनामा एउटा जहाजको मात्रै भाडा ६ लाख ३० हजार अमेरिकी डलर (९८ करोड ३१ लाख रुपैयाँ) बुझाउनुपर्नेछ।

टेण्डर डकुमेन्टमा कम्तीमा पनि एक वर्ष जहाज भाडामा लिने प्रावधान राखिएको छ। अर्को एक वर्ष स्वतस् नवीकरण गर्ने प्रावधान पनि राखिएको छ। यो आधारमा निगमले भाडाबापत एउटा जहाजको मात्र १ अर्ब रुपैयाँ तिर्नुपर्छ। ‘वेट लिज’मा जहाजका पाइलट र ‘क्याबिन क्रु’ भाडामा दिने कम्पनीको हुन्छ भने इन्धन र यात्रुलाई दिने खानेकुराको जिम्मा भाडामा लिने कम्पनीको हुन्छ।

नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ । निगमका अनुसार जहाज उत्पादक कम्पनी, जहाज कम्पनी र जहाज भाडामा दिने कम्पनीले आवेदन दिन सक्नेछन्।

 

​​​​​​​

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ०६ बजे