एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन

त्रिशूली । ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उहाँको शुक्रबार घरमै निधन भएको उहाँका आफन्त उद्धव हुमागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । ककनी गाउँपालिका र उहाँको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उहाँको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो । 

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उहाँलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिनुभयो ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उहाँलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।
 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ८ : ०० बजे