विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पहिलोपटक नेपालमै हुलाक टिकट छपाइ

काठमाडौं । नेपालमा पहिलोपटक हुलाक टिकट छपाइ शुरु भएको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले टिकट छपाइ गर्न थालेको छ।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, यसअघि नेपालका हुलाक टिकट भारत, इण्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो। हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो। जनक शिक्षाले राजनीतिज्ञ, शहीद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ।

जनक शिक्षाले आउने चैतसम्म एक करोड ३० लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ। तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ। चार राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्रअंकितत टिकट १० लाख थानको दरले कुल चालिस लाख थान छापिने छ। 

बाँकी ८० लाख थान टिकट छ प्रकारका सामग्री, धार्मिक स्थललगायतको चित्र अङ्कित हुने जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले बताए। हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ। जहाँ ३५ कर्मचारी खटाइएको छ। 

यसरी छापिएका टिकटको मूल्य ५, १० र १३ रुपैयाँ तोकिएको छ। विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ पर्ने गरेको थियो। जनक शिक्षामा भने ९५ पैसामै छपाइ सम्भव भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिए।

‘स्वदेशमा छाप्दा हुलाक टिकट छपाइको बर्सेनी विदेशिइरहेको करोडौँ रुपियाँ यतै रोक्न सफल भयौँ। साथै तुलनात्मक रूपमा सस्तो पनि भयो’,उनले भने।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : १० बजे