अफगानी मूलका पर्सियन विद्वान रूमीले भनेका थिए, "आफ्नो चर्को आवाज होइन, विचारशील शब्द बुलन्न्द बनाउनु होस्। वर्षाको पानीले फूलहरू फुल्छन्, गर्जनले होइन।" रूमीको भनाइबाट हामीले बुझ्नुपर्छ, हामीले हाम्रा असल विचारका माध्यमबाट जनतालाई उत्प्ररित गरिरहनु पर्छ, भ्रमपूर्ण हल्लाहरूबाट होइन। शक्तिसहितको विचारशील संवादले मात्र जनताको चेतना र विवेक उन्नत अनि व्यवहार सकारात्मक बनाउन सकिन्छ। त्यसैले भन्ने गरिन्छ, तथ्यसहितको तर्कपूर्ण विचारले मात्र समझदारी बढाउन मद्दत गर्छ भने प्रगतिशील लोकतान्त्रिक विचारसहितको राजनीतिक शक्ति मात्र बलियो बन्न सक्छ।
विचारमा असाधारण शक्ति हुन्छ जसले हाम्रो अवधारणा, कार्यहरू र वास्तविकतालाई आकार दिन्छ। विचारहरूले हाम्रा दिमागमा क्षणिक प्रभाव पार्ने मात्र होइन, विचारले व्यक्ति र समाजको भविष्य राम्रो बनाउने र परिवर्तनलाई देशमुखी बनाउने क्षमता पनि दिन्छ। सकारात्मक विचारहरूले उत्प्रेरकको रूपमा काम गर्छ, लचिलोपना र रचनात्मकतालाई बढावा दिन्छ, जबकि नकारात्मक विचारहरूले हाम्रो क्षमतालाई कमजोर बनाउँछ र हामीलाई भ्रममा पारिरहन्छ। विचारहरू हाम्रो विश्वदृष्टिकोण, विश्वास र व्यवहारका आधार हुन्, जसले हाम्रो बुझाइ, हेराइ र व्यवहारमा प्रभाव पारिरहेको हुन्छ।
विचार निर्माण र छनौटमा औपचारिक तथा अनौपचारिक शिक्षा, वरिपरिको वातावरण र संगतले प्रभाव पारिरहेको हुन्छ। असल शिक्षा, वातावरण र संगतले सही विचार छनौट र प्रवृत्ति विकास गर्न सघाउँछ भने खराब शिक्षा, वातावरण र संगतले खराब विचार र प्रवृत्तिलाई बलियो बनाउँछ। अहिले नेपालमा त्यही खराब शिक्षा, वातावरण र संगतको प्रभाव बढ्दा नकारात्मक धारको विचारहीन राजनीति अनि चरित्र र नैतिकहीन पात्रहरूले सदन, सडक, सञ्चार र सञ्जालहरूमार्फत भ्रमको खेती गरेर जनतालाई भावनात्मक रूपमा भड्काउँदैछन्।
नेपालमा हिजोआज त्यही नकारात्मक धारको अराजक, स्वछन्द र विचारहीन राजनीति अनि चरित्रहीन र नैतिकहीन पात्रले स्टन्ट गरेर जनता झुक्याउने काम गरिरहेको छ। भोलि त्यो पात्रले मौका पाउनासाथ कुनैपनि बेला देश र जनतालाई धोका दिनेछ। तर यो खालको बुझाइ र हेराइ आमजनता विकास गर्न सकिएको छैन् किनभने वैचारिक र सुसंस्कृत राजनीतिलाई कमजोर बनाउन नवउदारवाद र उपयोगितावाद मिलेर कम्फर्टेबल सत्ता गठबन्धन कायम गरेर देशको हितका विरूद्ध गतिविधिहरू गर्न सफल भइरहेका छन्। नवउदारवादको नेतृत्व शेरबहादुर देउवाले गरिरहेका छन् भने उपयोगितावादको नेतृत्व प्रचण्डले। अनि माधव र झलनाथहरू कम्फर्टेबलवादको टेको बनेर रमाइरहेका छन्।
आज देशको मुख्य समस्या गुणदोषका आधारमा असल र खराब छुट्याउने, परिस्थितिको सही विश्लेषण गर्ने र सान्दर्भिक प्रश्न उठाउने अभ्यास नै नहुनु हो। प्राज्ञिकहरू बिकाऊ बनेका छन् भने सञ्चार माध्यमहरू स्वतन्त्र र निष्पक्ष नभइ भ्रम बेचेर आफ्नो व्यवसाय बलियो बनाउन रमाएको छ र राज्यको चौथो अंग बन्न सकेको छैन्। जसले गर्दा एकातिर देशको गन्तव्य अनिश्चित बनेर नेपालमा नियन्त्रित अस्थिरता बढ्दो छ भने अर्कातिर देशको मुख्य समस्या छाँयामा परेको छ। नागरिकको विदेश पलायन बढ्दो छ। त्यसैले समस्या हाम्रो शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्थामा छ तर हामी भने राजनैतिक र संवैधानिक व्यवस्थामा समस्या देखिरहेका छौं।
जनताको चेतना र विवेकले सही विचार रोज्न र तुलनात्मक रूपमा असल नेतृत्व चिन्न सकिरहेको छैन् अनि स्टन्टबाजी राजनीतिले चर्चा पाइरहेको छ। रवी लामिछानेहरूको चर्चा त्यसकै उपज हो। त्यसैले जनताको चेतना र विवेक उन्नत बनाउन उनीहरूलाई औपचारिक तथा अनौपचारिक माध्यमबाट प्रशिक्षित र असल विचारबाट दीक्षित गरिरहनु पर्छ। सञ्चार माध्यमहरूले पनि स्वतन्त्र र निष्पक्ष भएर सही विश्लेषण र सूचना सम्प्रेषण गरिरहनु पर्छ। सामाजिक सञ्जालहरूलाई समाजको सकारात्मक विकासमा उपयोग गर्ने नीतिगत र कानुनी व्यवस्था गर्नुपर्छ। प्राज्ञिक वर्गले आफ्ना क्षमता र प्रभावहरूमार्फत जनताको चेतना र विवेक उन्नत बनाउने भूमिका निर्वाह गर्न सक्नुपर्छ। अनिमात्र असल विचार शक्तिशाली बन्न थाल्नेछ।
यही जनवरी २४ मा परेको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा "दिगो शान्तिका लागि सिकाइ" तय भएको युनेस्कोले जनाएको छ। जबकि विश्वमा शान्ति र अमचयनमा खलल पुर्याउन ग्लोबल नर्थको नेतृत्व गर्दै अमेरिकाले लगानी गरिरहेको छ। त्यही लगानीको प्रतिफल अफगानिस्तान दशकौंदेखि द्वन्द्वमा छ। मध्यपूर्वको अवस्था त्यस्तै छ। रूसमा जेलेन्स्कीमार्फत हस्तक्षेप बढाउन खोज्दा युक्रेन ध्वस्त भइरहेको छ। पछिल्लो समय इजरायल-हमासको द्वन्द्वका कारणले गाजामा हजारौं बच्चादेखि वृद्धहरू मारिएका छन्। त्यहाँबाट पेलेस्टाइनहरू पलायन हु बाध्य पारेर देशविहिन बनाउने परिस्थिति तयार गरिएको छ। नेपालले पनि कहिं कहिं त्यही ग्लोबल नर्थको दबावमा परेर शान्ति र समृद्धिको यात्रा अघि बढाउन सकेको छैन्। यो अवस्थाका बीच "दिगो शान्तिका लागि सिकाइ " को नाराले कसरी सार्थकता पाउन सक्छ? यति बेला प्रश्न उठाउनु पर्ने भएको छ।
हामीले बुझ्नुपर्छ, आजका बालबालिकाहरू भोलिका राजनीतिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक, सामाजिक र धार्मिक नेतृत्व हुन्। यसर्थ "शिक्षामा लगानी गर्नु उज्ज्वल भविष्य सुनिश्चित गर्ने बुद्धिमानीपूर्ण निर्णय हो।” समाजमा बढ्दो हिंसा र द्वन्द्व अनि ग्लोबल नर्थको मिचाहा प्रवृत्तिलाई कमजोर बनाएर परास्त गर्न हामीले शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्थालाई जनमुखी र देशमुखी बनाउँदै राजनैतिक र संवैधानिक व्यवस्थालाई परिपूर्ण लोकतन्त्रको सुननिश्चित गर्ने दिगो माध्यम बनाउनु पर्छ। यसका लागि हामीले सबभन्दा पहिले विचारको शक्तिलाई बुझेर प्रगतिशील लोकतन्त्र अर्थात जनताको बहुदलीय जनवादका पक्षमा जनतालाई गोलबन्द गर्नुपर्छ। नेपालको सन्दर्भमा जनताको बहुदलीय जनवाद नै सबभन्दा बढी प्रगतिशील र लोकतान्त्रिक विचार हो भनेर आमजनतालाई बुझाउन सक्नुपर्छ।
राजनीतिमा सधैं विचार प्रधान हुन्छ। उपलब्ध विचारहरू मध्ये व्यावहारिक रूपमा कुन राजनीतिक विचार तुलनात्मक रूपमा प्रगतिशील र लोकतान्त्रिक छ, त्यो चिन्न र रोज्न सक्नुपर्छ। त्यस्तै प्रगतिशील र लोकतान्त्रिक विचारबाट निर्देशित र व्यवहारमा नैतिकवान र चरित्रवान अनि विकास मानसिकताका साथ क्रियाशील पात्रलाई हामीले राजनीतिक रूपमा बलियो बनाउनु पर्छ। प्रगतिशील र लोकतान्त्रिक विचारबिना व्यक्तिमा विकास मानसिकता प्रबल बन्दैन् र त्यसले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्ने सामर्थ्य पनि राख्दैन भनेर हामीले बुझ्नुपर्छ। त्यसैले राजनीतिमा प्रगतिशील लोकतान्त्रिक विचारको शक्तिलाई बुझेर हामीले राजनीतिक निर्णय र गतिविधिहरू गर्नु आवश्यक छ।
प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार १ : ३० बजे
प्रतिक्रिया