‘नेशनल डे कन्सर्ट’ सम्पन्न

देश समाप्तिको डिलमा पुग्याे, बचाउने जिम्मा एमालेको काँधमा छ : पद्मा अर्याल

काठमाडौं, १४ माघ । नेकपा (एमाले) की सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले देश समाप्तिको डिलमा पुगेकोले अब देश बचाउने जिम्मा एमालेको काँधमा आएको बताउनु भएको छ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई बुटवलमा सम्बोधन गर्नुहुँदै उहाँले देशको पछिल्ला तथ्यांक डरलाग्दा आएको बताउनु भएको हो ।

राजश्व उठ्ने क्रम पहिलाभन्दा प्रति महिना ४ अर्ब कम भएको र प्रतिमहिना १ खर्व १५ अर्व १४ करोड व्यापार घाटा रहेको उहाँको भनाइ छ । अर्को प्रशंगमा उहाँले २० करोडसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डर लाग्दो भएको बताउनुहुँदै विभिन्न प्रकारका सूचना लिने र नेपाल कब्जा गर्ने रणनीति भएको आशंका व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कुर्सी डगमगाउला, हेगमा जान पर्ला भनेर लम्पसार पर्नुभएको टिप्पणी गर्नुहुँदै उहाँले टीआरसी भारतले नै टुंगो लगाउन नदिने धारणा व्यक्त गर्नुभयो । दीर्घकालमा देश सुम्पने तरिकाले यो सरकारले काम गरेको बताउँदै अर्यालले सबै प्रकारका कुकर्मलाई जनताकाबीच राखेर राजनीतिको कोर्स परिवर्तन अबको आवश्यकता रहेको बताउनुभयो ।

बैठक प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको थियो भने सचिव लक्ष्मण आचार्यले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । पूर्व मुख्यमन्त्री तथा पोलिटव्यूरो सदस्य लीला गिरीले प्रदेश स्थापनाकालमा एमालेको नेतृत्वमा बनेको सरकारले सबैभन्दा धेरै बजेट खर्च गर्न सकेको प्रशंग उल्लेख गर्नुहुँदै यो पटक पनि एमाले नेतृत्व सरकारले कृषिको माध्यमबाट समृद्व प्रदेश बनाउने प्रयत्न गरेकोमा सरकारलाई टिक्न नदिएर कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई संस्थागत गर्ने तरिकाले काम भएको बताउनु भयो ।

उहाँले यो विषयलाई जनताकोबीचमा लैजान पार्टी पंक्ति सक्रिय हुन आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकले पार्टी केन्द्रबाट प्राप्त परिपत्रको अध्ययन गरी यसअघि सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गर्दै तदनुसारको निर्देश कार्यान्वयन गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।

भूकम्प प्रभावित खासगरी पश्चिम रुकुम क्षेत्रमा २०५ जना स्वयंसेवक खटाएकोमा अभियान प्रभावकारी रहेको निष्कर्ष बैठकले निकालेका छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत समृद्विका लागि संकल्प यात्रामा पूर्वी रुकुम र गुल्मीले गरेको कामको उच्च मूल्यांकन गर्दै बैठकले धन्यवाद ज्ञापन गरेको हो । साथै बैठकले राष्ट्रियसभामा सिफारिस गरेका नामको पनि अनुमोदन गरेको छ । बैठकले सल्लाहाकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र ३१ वटा विभागहरुलाई पूर्णता दिएको छ । यसबाहेक केन्द्रीय निकाय, सल्लाहकार परिषद र सिफारिस गर्नुपर्ने नामको सिफारिस गरेको छ ।

जिल्ला तथा पालिका साथै वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि बैठकले आवश्यक निर्णय पनि गरेको छ । बैठकले सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने निर्णय गर्नुका साथै जिल्ला र मातहत कमिटीका अधिवेशन गर्नका लागि निर्देश समेत गरेको छ ।
यस्तै जनसंगठनका सन्दर्भमा पनि प्रदेश, जिल्ला तथा मातहत कमिटीका सम्मेलन, बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने र प्रदेश जनसंगठन संयन्त्रको बैठक सञ्चालन गर्नका लागि पनि आवश्यक निर्णय गरेको हो।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पार्टी अध्यक्षहरुले जिल्ला तथा मातहत किमिटीको बैठकको अवस्था, पालिका तथा वडा अधिवेशनको अवस्था, जनसंगठनको अवस्था, प्रशिक्षण कार्यक्रमको तयारी अवस्थामा केन्द्रीत रही आ–आफ्नो जिल्लाको रिपोर्टिङ गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ५६ बजे