‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अनुदानको एक सय ३० बोरा मल बाटैबाट ‘गायब’

बाँके । नेपाल सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानहरूका लागि पठाइएको मल बाटोबाट गायब गरी दुरुपयोग भएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गाएब भएको पाइएकाे हो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ–९ गते बुझिलिएको दुई सय बोरा (प्रति बोरा ५० किलो) नेपाल सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानकाे युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै युरिया मल फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भरपाई पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको पाइएकाे छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुख समेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गर्दा यस्तो कैफियत पाइएको हो ।

नेपाल सरकारद्वारा अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएको क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वको आकस्मिक अनुगमन गरेको हो ।

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन बमोजिम रु दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल शिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मल बारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

-रेडियाे नेपालबाट

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : ३१ बजे