इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कतारबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् । 

दोहास्थित नेशनल क्राइम ब्युरोसँगको समन्वयमा कतारमा पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

अभियुक्त खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी प्राप्त भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोललाई अनुरोध गरेअनुरुप इन्टरपोलले यही माघ २ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : ५३ बजे