आसाममा साहित्यिक अनुष्ठान तथा स्रष्टा सम्मान 

काठमाडौँ  । डिमौ,आसामस्थित  हरिभक्त कटुवाल चोकको गोर्खा भवनमा एक साहित्यिक अनुष्ठानमा तीन नेपाली स्रष्टालाई सम्मान गरिएको छ । 

कार्यक्रम आयोजक संस्था अर्वाचीन पुराण समाज,इटहरीकी  अध्यक्ष मिथिला पोखरेलले असम नेपाली साहित्य सभा डिमौ,जिल्लाका अध्यक्ष तथा वरिष्ठ स्रष्टा चिन्तामणि चम्लागाईं,भाषा सेनानीका रुपमा समाजमा परिचित  स्रष्टा हरि धमलालाई डाका टोपी लगाएर सम्मान गर्नुभयो ।

 त्यसैगरी प्रा.डा. बद्रीविशाल पोखरेललाई असम नेपाली साहित्य सभाका केन्द्रीय सदस्य मोहन उपाध्यायले आसामे गम्छा लगाएर सम्मान गर्नु भएको थियो । सभामा डा. पोखरेलले दुई देशका हामीहरुको भाषा,साहित्य र संस्कृति समान र घनिष्ठ रहेको हुँदा यसलाई विस्तारित र सम्बृद्ध गर्नु हाम्रो कर्तव्य रहेको र यसमा असम साहित्य सभा सक्रिय रहेको थाहा पाउँदा खुसी  लागेको बताउनुभयो । यसमा युवा स्रष्टा समाज नै स्थापना गर्दा यो अभियान अझ विस्तारित र सशक्त हु्ने कुरा बताउनुभयो ।

सम्मानित व्यक्तित्व हरि धमलाले सेवा निवृत्त शिक्षक भए पनि भाषा,साहित्य र संस्कृतिको उत्थानमा आफू निरन्तर लागि रहने र यसमा सभामा उपस्थित युवा विद्यार्थीहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो । 

अर्का सम्मानित वरिष्ठ सर्जक चम्लागाईंले नेपालदेखि धार्मिक सांस्कृतिक पर्यटकका रुपमा आएर साहित्यिक अनुष्ठान गरी हामीलाई समेत उत्प्रेरित गरेकामा आयोजकप्रति हार्दिक आभार प्रकट गर्नुभयो । 

कार्यक्रममा बर्पेटा आसामका कवि रामचन्द्र उपाध्याय,स्रष्टा तथा शिक्षक इन्द्र नेपाल   लेखक ललित्त उपाध्याय,अमर क्षेत्री,आमा समाजकी अध्यक्ष कल्पना भट्टराई लगायतले आआफ्ना विचार र रचना प्रस्तुत गर्नु भएको थियो । यसरी नै माघ ९ गते बोडोल्याण्ड टरिटोरियल काउन्सिल स्थित मङ्गला गाउँमा बाल साहित्यिक गोष्ठी सम्पन्न गरिएको छ ।

 स्थानीय गाउँ प्रधान ÷ गाउँ बूढा   पीताम्बर उपाध्यायका निवासमा आयोजित कार्यक्रममा भूमिका शर्मा,वर्षदेवी पोखरेल,मनिषा गौतम, वर्सा लोहार,पूजा विश्वकर्मा लगायत बाल बालिकाले असमी,नेपाली,अङ्ग्रेजी,बङ्गाली भाषाका कविता र गीत प्रस्तुत गरेका थिए । बिना बरालका अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. पोखरेलले बाल बालिकाको उमेर अनुसार शिक्षाप्रद कलात्मक बाल  कविता र गीत सहित मन्तव्य प्रस्तुत गर्नु भएको थियो । 

सभामा गाउँ बूढा /गाउँ प्रधान पीताम्बर उपाध्यायले यस खालका कार्यक्रमले बाल बालिकालाई सानै उमेरदेखि  रचनात्मक सिर्जनात्मक र अनुशासित तथा अध्ययनशील बनाउन ठुलो सहयोग पुग्ने कुरा बताउनुभयो । भारतको अरुणाञ्चल प्रदेश स्थित पर्शुराम कुृण्ड सहित सांस्कृतिक पर्यटन भ्रमणका क्रममा डा. पोखरेलले गेला पोखरीका प्रसिद्ध स्रष्टा हरि उपाध्याय लुइँटेल,बर्पेटा,गोहटीका  लेखक कमल उपाध्याय,युवा इन्जिनियरहरु दीप तथा राज उपाध्याय, तथा गेला पोखरी पवन अधिकारी,किशोर क्षेत्री,आदिसित भेटघाटगर्दै नेपाली संस्कृतिको जगेर्ना गर्ने विषयमा संवाद गरेको यात्रामा सहभागी मिथिला पोखरेलले बताउनुभयो ।

 मिथिलाका अनुसार न्युज २४ का स्थानीय पत्रकार वसन्त फुएलले लिएको अन्तवार्तामा सोधिएको एक प्रश्नमा डा. पोखरेलले अङ्ग्रेजी,हिन्दी वा अन्य कुनै पनि भाषालाई संसारका कुनै पनि देशमा उक्त नामबाट नै सम्बोधन गरिन्छ । बरु उक्त भाषाको नामका अगाडि ब्रिटिस अङ्ग्रेजी, अमेरिकन अङ्ग्रेजी भनिन्छ तर भाषाको मूल  नाम नै फेर्ने कुरा गरिँदैन त्यसैले संसारभरि नेपाली भाषालाई नेपाली नै भन्नु पर्छ र यसरी मात्र  भाषाको मान मर्यादा राख्न  सकिन्छ । अन्यथा नाम राख्नु किमार्थ जाती हुन्न भन्नु भयो ।   

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : २३ बजे