भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल सेवा रद्द

धनुषा । भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने भनिएको रेल सेवा रद्द गरिएको छ ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट विशेष रेल सेवाको तयारी गरिएको थियो । तर, भारत सरकारले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द गरिएको हो ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले २२ जनवरीमा हुने प्राण प्रतिष्ठामा सम्बन्धित निकायबाट स्वीकृति लिएर रेल जाने व्यवस्था मिलाएको बताएका थिए । उनले शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिने र आइतबार बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने बताएका थिए ।

भारत सरकारले अनुमति नदिएकाले अयोध्या जाने विशेष रेल सेवा रद्द भएको रेल्वे कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ०९ बजे