दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रोजगारीका लागि ६ महिनामा ३ लाख बढी नेपाली विदेशिए

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख बढी पुगेको छ ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।”

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएइ जाने रहेका विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : ३० बजे