साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

रहेनन् ‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ’ का गायक योगेश वैद्य

काठमाडौं । नेपाली सांगीतिक जगतका एक मूर्धन्य गायक योगेश वैद्यको निधन भएको छ । गए राति ७७ वर्षको उमेरमा उनको निधन भएको हो ।

काठमाडौंको न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी लभ्लिना वैद्यले जानकारी दिएकी छन् । भर्खरै मात्र उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां सायमी सिरपाः ’ प्रदान गरिएको थियो । त्यस कार्यक्रममा भने उनी आफैं उपस्थिति हुन सकेका थिएनन् । तर भिडियो सन्देश भने दिएका थिए ।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँशु लिएर जाउ’, ‘मेरो आँशुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् । १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए ।

इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्‍याए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत सुनाए । मोहम्मद रफी, तलत महमुदलगायतको । सबैले तारिफ गरे । उनको स्वरपरीक्षा त्यही भयो । किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत रेकर्ड भयो, ‘कति प्यासी छ जिन्दगी…’ ०२२ मा । त्यसपछि एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु…’ । एमएस्सी पढ्दा केही समय गाएनन् । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकै पटक चार वटा गीत डिस्क रेकर्ड गराए । कति प्यासी.. सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी… ।

वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन् । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : २४ बजे