आफ्नै घरमा मृत भेटिइन् बक्सिङ खेलाडी

काठमाडौं । रजत पदक विजेता महिला बक्सर आफ्नै घरमा मृत भेटिएकी छिन् । मंगलबार बक्सिङ खेलाडी नीता गोसाई भक्तपुरस्थित आफ्नै घरको छतमा रहेको डन्डीमा पासो लागेको अवस्थामा मृत भेटिएकी हुन् ।

२७ वर्षीया गोसाई सशस्त्र प्रहरी बल(एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन्। उनले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो ।

परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

मृतकका परिवारले एक युवकविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन भन्दै जाहेरी पनि दिएका छन् । विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको आफन्तको दावी छ ।

प्रहरीले ती युवकलाई पक्राउ गरी यसबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  २ : ३० बजे