दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पाँच जिल्लाका विभिन्न स्थानमा श्रृंखलाबद्ध चोरी गर्ने चाेर पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जिल्लाका विभिन्न स्थानमा श्रृंखलाबद्ध चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोसेरा बस्दै आएका ४० वर्षीय रघुनाथ बस्नेत रहेका छन्। उनलाई निकोसेराबाटै ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका–२, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा कोही नभएको मौका पारी घरकोठाभित्र पसेर सुनचाँदीका गरगहना तथा नगद धनमालहरु चोरी गरेर फरार भएका उनलाई गत पुस २४ गते पक्राउ गरेको हो। 

पक्राउपछि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएकोमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै अनुसन्धानका क्रममा बस्नेत यसअघि पनि पाँचवटा जिल्लाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीमा संलग्न भएको पाइएको छ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक र दोलखाका विभिन्न मितिमा भएका चोरीमा उनी संलग्न थिए। साथै ९ वटा चोरी र ३ वटा अभद्र व्यवहार गरी १२ वटा मुद्दामा कारबाहीमा परिसकेका व्यक्ति रहेको खुलेको परिसरले जनाएको छ। 

उनीमाथि ललितपुर–३ झम्सिखेल बस्दै आएका ठाकुर नाथ ढकालको घरबाट पुस १ गते ३७ लाख १६ हजार ९२५ रुपैयाँ मूल्य बराबरको नगद र धनमाल चोरी भएको आरोप छ। उक्त आरोपमा जाहेरी लिएर अनुसन्धान भइरहेको छ। 

यस्तै ललितपुर–२ सानेपामा बस्ने सुप्रिया राईको कोठाबाट पनि मंसिर १७ गते २४ लाख ७६ हजार मूल्य बराबरको नगद र धनमाल चोरी भएको आरोपमा पनि जाहेरी लिएर अनुसन्धान भइरहेको परिसरले जनाएको छ। 

यस्तै सानेपास्थित जर्मन नागरिक ड्यानियल फक्सको कोठाबाट कात्तिक १५ गते चोरी गरेको घटना र ललितपुर–४ भनिमण्डलमा बस्ने नर्वजिन नागरिक जेनिरिक सब्स टुड्सरोडको कोठाबाट कात्तिक २४ गते भएको चोरीको घटनाका सम्बन्धमा पनि बस्नेतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : ३२ बजे