धेरैलाई लागेको छ यो मुलुकमा युवाका लागि कुनै सम्भावना नै छैन । त्यसैले सबै वा धेरै विदेश जान बाध्य छन् । समाजमा यस्तै भाष्य निर्माण भएको छ । तर वास्तविकता योभन्दा अलि फरक छ ।
यहाँ सबै युवाका लागि कुनै अवसर नै नभएको होइन । विशेष गरी ती युवाहरूको हकमा अलि बढी समस्या छ जुन युवा आफ्ना अभिभावक वा बाबुआमाले गर्दै गरेको व्यवसाय र पेसामा रमाउन सकेका छैनन् । वा, यस्तो व्यवसायलाई निरन्तरता दिन सकेका छैनन् ।
आज ठुलो जनशक्ति गाउँबाट सहरमा बसाई सरेको छ । गाउँको निर्वाहमुखी कृषि पेशाले निरन्तरता पाउन सकेन । पाउनु पनि हुँदैन । विकासका लागि कि कृषिको व्यावसायिकीकरण हुनुपर्छ कि त्यसबाट विस्थापित हुनुपर्छ । गाउँमा व्यावसायिकीकरण कम र विस्थापित धेरै भयो । गाउँबाट विस्थापित युवा जनशक्ति रोजगारीका लागि मलेसिया, खाडी मुलुक र अन्य देशमा जाने गरे ।
समाजमा पहुँच बनाउन पहल गरिरहेका परिवारले छेरा छोरीलाई प्रमाणपत्रधारी शिक्षा दिए । देशको शिक्षा नीतिको कारण युवाले प्रमाणपत्रमुखी शिक्षा लिन बाध्य भए । यस्तो शिक्षा ग्रहण गर्न गाउँ गाउँसम्म खुलेका प्लस टु, निजी विद्यालय र सामुदायिक कलेजहरूले मद्दत गरे । अलिकति पहुँच हुनेले नजिकैको वा टाढाको सहरमा राखेर नै प्रमाणपत्रधारी शिक्षा लिन लगाए ।
यसरी अलिकति शिक्षाको अवसर पाएर प्रमाणपत्रधारी शिक्षा आर्जन गर्नेहरूले प्रमाणपत्र लिए तर सिपयुक्त शिक्षा लिन सकेनन् । जीवन चलाउने कला र सोचको विकास हुन पाएन । यस्ता प्रमाणपत्र बोकेका धेरै युवाले प्रमाणपत्र पाउँदाको खुसी र उत्साह जीविकाका लागि बजारमा प्रवेश गर्ने बित्तिकै सेलाउन पुग्छ । मागभन्दा आपूर्ति धेरै भएको र प्रमाणपत्रधारीहरूमा जागिर खाने सोच हाबी भएकाले सबैले जागिर पाउने सम्भावना भएन, क्वालिटी पुगेन, बजारमा टिक्न सकेनन्, कुनै उद्यमशीलताको सोच पलाएन त्यसैले सजिलो उपाय बन्यो विदेशको बाटो ।
अभिभावक वा बाबुआमाले गरेको पेसा व्यवसायलाई छोराछोरीले निरन्तरता दिने अवस्था बनेन, धेरै अभिभावक तथा बाबुआमाले पनि छोराछोरीले अरू नै काम गरुन् भन्ने सोच बनाए । जस्तै कृषिको व्यावसायिकीकरण वा आधुनिकीकरण, उद्यमशीलताको विकास र निरन्तरताको सोच बनेको भए प्रमाणपत्रधारी शिक्षा लिएका युवाले पनि यो काम गर्न हुन्छ, यसैमा भविष्य बनाउन सकिन्छ । भविष्य खोज्नु पर्छ भन्ने सोच आएको भए कृषिको व्यावसायिकता र उद्यमको विकास गरेर भविष्य खोज्ने प्रयास हुने थियो । तर यतातिर कमैको सोच गयो । एक पटक विदेश पुगेर फर्किए पछि मात्रै यतै केही गर्न पाए हुन्थ्यो भन्ने सोच पलाएको पाइन्छ । यो कारणले पनि युवा एक पटक विदेश जान चाहन्छन् ।
न परिवारका युवाहरू पारिवारिक पेसा व्यवसायको विरासतबाट अन्यत्र मोडिए वा मोडिन बाध्य भए ती युवाहरूका लागि चुनौती धेरै छ । जस्तै शिक्षकका छोराछोरी शिक्षक हुन चाहँदैनन् वा पाउँदैनन् । सरकारी कर्मचारी, सेना, प्रहरीका छोराछोरी त्यो पेसामा जान चाहँदैनन् वा पाउँदैनन् । किसान पृष्ठभूमिबाट आएका युवा कृषिमा फर्किन चाहेनन्, फर्काउन चाहिएन ।
जुन परिवारका युवाहरू पारिवारिक पेसा व्यवसायको विरासतबाट अन्यत्र मोडिए वा मोडिन बाध्य भए ती युवाहरूका लागि चुनौती धेरै छ । जस्तै शिक्षकका छोराछोरी शिक्षक हुन चाहँदैनन् वा पाउँदैनन् । सरकारी कर्मचारी, सेना, प्रहरीका छोराछोरी त्यो पेसामा जान चाहँदैनन् वा पाउँदैनन् । किसान पृष्ठभूमिबाट आएका युवा कृषिमा फर्किन चाहेनन्, फर्काउन चाहिएन । राजनीति, समाज सेवा, यातायात व्यवसाय, निर्माण व्यवसाय, पत्रकारिता, सानातिना सेवा व्यवसाय, मजदुर, कलाकार, खेलाडी कसैका छोराछोरी पनि आफ्ना अभिभावक वा आमाबाबुको पेसा व्यवसायसँग जोडिन र सोही पेसालाई निरन्तरता दिन चाहँदैनन् । यदि परिवारको पेसा वा व्यवसायलाई निरन्तरता दिने अवस्था बन्दा परिवारबाटै केही न केही सिक्ने र अनुभव लिने अवस्था बन्ने गर्छ । कसैले त्यसैलाई निरन्तरता दिएको पाइए त्यो अपवाद जस्तै भएको छ । त्यसो भएपछि उनीहरूले अनुभवहीन नयाँ व्यवसायमा हात हाल्नु पर्ने हुन्छ । यस्ता नयाँ र अनुभव नै नभएको व्यवसायमा सफल हुने सम्भावना एकदमै थोरै हुन्छ । जोखिम धेरै हुन्छ । असफल हुन्छन् । अरूले नयाँ काम गर्दा असफल भएको देख्छन् । त्यसैले सजिलो उपाय बनेको छ विदेशको बाटो ।
यसरी धेरैभन्दा धेरै युवाले विदेशको बाटो रोज्नुमा हाम्रो शिक्षा प्रणाली, सामाजिक मूल्यमान्यता, युवा पुस्ताको हुर्काइको परिवेश, कमजोर पारिवारिक व्यवसायको विरासत, राज्यका अङ्गहरूमा व्याप्त कुशासन र भ्रष्ट आचरण जिम्मेवार छ ।
शिक्षा प्रणाली : हाम्रो शिक्षा प्रणालीले प्रमाणपत्र दियो तर सिप दिएन । विद्यार्थी र अभिभावक प्रमाणपत्रको प्रतिशतमा रमायौँ तर सिप खोजेनौँ । हामीले सिप सिकाउने शिक्षालय बनाएनौँ पूर्णकालीन विद्यार्थी पढाउने स्कुल बनायौँ । अब पढ्दै कमाउँदै, अर्थात् कमाउँदै पढ्दैको शिक्षालयको विकास गरौँ । यो पद्धतिले सिप, शिक्षा र कमाई एकै पटक प्राप्त हुन्छ । यही फाइदाका लागि युवा विद्यार्थी बनेर बिदेसिन चाहेका छन् ।
सामाजिक मूल्य : हामीले श्रम गर्नेलाई हेप्यौँ । पसीना बगाएर काम गर्नेलाई सम्मान गर्न चुक्यौँ । श्रम गर्नेलाई आदरार्थी शब्दले सम्बोधन गर्न कन्जुस्याइँ ग¥यौं । समाजले सम्मान गर्न नसकेको र हेपेको काममा युवा आउन चाहेनन् । वर्गीय विभेद र अपमान कायम रह्यो । त्यसैले समाजको अपमान सहेर श्रम गर्नुभन्दा समाजले नचिनेको देशमा गएर श्रम गर्न रुचाइएको कारण युवा श्रम गर्न पनि विदेश जाने क्रम बढ्यो । सोच बदलौँ, संस्कार बदलिन्छ । संस्कार बदलेर श्रम गरौँ, श्रमिकलाई सम्मान गरौँ । नेपालमा शारीरिक श्रम गर्नेहरूका लागि जीवन चलाउन चाहिने आम्दानी छ तर सम्मान छैन । युवा सम्मान सहितको आम्दानी चाहन्छन् । त्यसैले चिनेको र हेप्ने समाजले नदेख्ने देशमा गएर श्रम गर्न रुचाउँछन् त्यही भएर विदेश जान चाहनेहरू बढे ।
युवाको हुर्काइमा परिवर्तनको आवश्यकता : सबैले सायद सबैभन्दा बढी आफ्ना सन्तानलाई माया गर्छन् । सबैभन्दा धेरै त्याग पनि सन्तानकै लागि गरिन्छ । शिक्षाबाट वञ्चित बन्नु परेको पुरानो पुस्ताले आफ्नो सन्तानलाई शिक्षाको राम्रो अवसर जुटाउने नाममा सबै दुःख, अभाव, सङ्कट आफूले काँधमा बोकेर छोराछोरीलाई पढ्ने अवसर जुटाउँदा आजको युवा पुस्ता कामसँग जोडिन पाएन । अभाव र सुखदुखःमा जोडिन पाएन । कामको महत्त्व बुझेन, श्रमको महत्त्व बुझेन, सीपको विकास हुन पाएन । जीवन चलाउने सिप सिक्न पाएन । खाना पकाउन सिकेन, सरसफाइ गर्न जानेन, कृषि कर्मबाट विमुख भयो । पारिवारिक सम्बन्ध र सामाजिक सम्बन्धको महत्त्व बुझेन । घरायसी कामबाट विमुख भयो । बाबुआमा बढी नै व्यस्त भएका कारण वा बाबुआमाबाट टाढा बस्नु पर्दाको कारण परिवारसँगको घुलमिल, उठबस, संवाद, सुखदुख, परिवारका समस्या आदिबाट टाढिन पुग्यो । त्यसैले आजको युवामा प्रमाणपत्रधारी शिक्षा बाहेक व्यवहारिक शिक्षा र ज्ञान लगभग शून्य हुन गयो । सिपमूलक र व्यवहारिक शिक्षाको अभावमा बजारको प्रतिस्पर्धामा धेरै युवा टिक्नै सकेनन् । विदेशमा गएर गरेको दुःख, खाएको हन्डर परिवारले देख्दैन, समाजले देख्दैन, त्यहाँ कुरा काट्ने समाज छैन, श्रमलाई अपमान गर्ने संस्कार छैन । स्वतन्त्र भएर जीवन जिउने चाहनामा अङ्कुश लगाउने आफन्त कोही छैन । विदेशमा गएर जस्तोसुकै दुःख गर्न, श्रम गर्न तयार युवा आफ्नै गाउँघर र आफ्नै परिवेशमा श्रम गर्न लजाउँछ, डराउँछ । त्यसैले धेरै युवाले सजिलो देखे विदेशको बाटो ।
पारिवारिक व्यवसायको कमजोर विरासत : आज पनि त्यो परिवारका युवा नै धेरै विदेश गएका छन् जसको परिवारको व्यवसायको आधार कमजोर छ । कृषिमा आधार भएकाहरू पनि कृषिमा फर्किन चाहेनन् । कृषिको व्यावसायिकीकरण सम्भावना देखेनन् । तदनुरूपको शिक्षाको अभाव रह्यो । जागिरे परिवारका, राजनीतिक वा सामाजिकरुपमा सक्रिय भएका परिवारका, अन्य कुनै अस्थिर प्रकृतिको पेसा व्यवसायमा लागेका अभिभावकका सन्तानले पारिवारिक विरासतको व्यवसायमा भविष्य देखेनन् वा देखाउन सकेनौँ । तर जुन समुदाय र परिवार उद्यम र व्यवसायमा केही राम्रो गरिरहेका छन् ती परिवारबाट विदेश जाने युवा कम छन् मात्रै होइन छदैछैनन् भन्दा हुन्छ । नगण्य छन् । पढ्न गए पनि फर्किएर आएका र पेसा व्यवसायमा लागेका छन् । व्यवसायमा जमेका समुदाय र घरानाका युवा बिदेसिएका छैनन् । बरु राज्यका महत्त्वपूर्ण निकायमा बसेका नेता, कर्मचारी, शिक्षक, पत्रकार, प्रहरी, सेना, कुनै बेला गाउँका ठुलाठालु र गन्यमान्यमा गनिएकाहरूका सन्तान बिदेसिएका छन् । यस्ता गन्यमान्य, ठुलाठालुको परिवार पहिला गाउँबाट सहरमा र सहरबाट विदेशमा पलायन भएका छन् । देशमा प्रशस्त अवसर पाएकाहरू, सम्मान पाएकाहरूका परिवार नै बिदेसिएका छन् । यहाँ उद्यमशीलताको जग हाल्न सक्नेहरू, जग भएकाहरू बिदेसिएका छन् । तर, त्यो जगमा उभिएर उद्यमी बन्ने आँट गर्न सकेनन्, जोखिम लिन सकेनन् । यस्ता परिवारका धेरै युवा पढ्ने बहानामा बिदेसिएका छन् । उतै भविष्य खोज्न हतारिएका छन् ।
व्याप्त भ्रष्टाचार र कुशासनको कारण पनि विदेशको बाटो : उद्यम गर्न इजाजत चाहिन्छ, ऊर्जा चाहिन्छ, कच्चा वस्तु चाहिन्छ, उपयुक्त जनशक्ति चाहिन्छ, समाजको छिमेकीको सहमति चाहिन्छ । बजारमा पहुँच बनाउन कडा प्रतिस्पर्धा गर्नुपर्छ । एउटा फ्रेस युवा जहाँ जहाँ जान्छ त्यहाँ त्यहाँ उसले भ्रष्ट र कामचोरहरूसँग ठोक्किनु पर्छ । लोभी र ठग्न तम्सेकाहरू झेल्नु पर्छ । युवालाई, उद्यमीलाई वा अरूलाई कसरी सेवा गरूँ, सहयोग गरूँ भन्ने सोचका मानिस भन्दा धेरै बरु योसँग कसरी पैसा झार्ने, लाभ लिने भन्नेहरू जताततै भेटिन्छन् । सिकाउने, उत्प्रेरित गर्ने, प्रोत्साहन गर्ने, सघाउने सोचका मानिसको अभाव छ । कुरा काट्ने र निरुत्साहित पार्ने मानिसलाई झेल्नु पर्छ । समाजमा उद्यम गर्ने मानिस प्रतिको धारणा अझै सकारात्मक बन्न नसकेका कारण सहयोग होइन असहयोगको वातावरण धेरै हुने गर्छ । उद्यम गर्ने उद्यमीले समाजका बेरोजगार, राजनीतिक पार्टीका नेता, प्रहरी, सरकारी कर्मचारी, विभिन्न संस्था आदिको झमेला ब्योहर्नु पर्छ । देशमै केही गरौँ भनेर लागेका युवा यी र यस्ता झन्झटमा ठोकिदा ठोकिँदै हैरान भएर बरु विदेशै जान्छु भन्ने सोच्न थाल्छन् ।
कुरा काट्ने र निरुत्साहित पार्ने मानिसलाई झेल्नु पर्छ । समाजमा उद्यम गर्ने मानिस प्रतिको धारणा अझै सकारात्मक बन्न नसकेका कारण सहयोग होइन असहयोगको वातावरण धेरै हुने गर्छ । उद्यम गर्ने उद्यमीले समाजका बेरोजगार, राजनीतिक पार्टीका नेता, प्रहरी, सरकारी कर्मचारी, विभिन्न संस्था आदिको झमेला ब्योहर्नु पर्छ । देशमै केही गरौँ भनेर लागेका युवा यी र यस्ता झन्झटमा ठोकिदा ठोकिँदै हैरान भएर बरु विदेशै जान्छु भन्ने सोच्न थाल्छन् ।
के अवसर नभएकै हो त ?
विदेश पढ्न जाने बहाना हो । मुख्य कुरा त काम र सजिलो एवं सम्मान जनक जीवन यापनको खोजी हो । मानिसले बिसदेखि तिस वर्षको उमेरमा अझ २०–२५को उमेरमा जुन काम सुरु गर्छन् झन्डै असी प्रतिशत मानिस जीवनभर त्यही काम गर्छन् । जस्तै यो उमेरमा वैदेशिक रोजगारीमा गएको मानिस पटक पटक गरेर उमेर छउञ्जेल वैदेशिक रोजगारीमा नै काम गर्छन् । विद्यार्थी भिसामा विदेश गएर उतै पढ्ने र काम गर्ने मानिसको ठुलो सङ्ख्या उतै भासिन्छन् । २०–२५ कै उमेरमा कुनै जागिरमा लागेको मानिसले जागिर नै गरेर जीवन बिताउने सम्भावना धेरै हुन्छ । यही उमेरमा उद्यमी बनेको युवा ठक्कर खाएर पनि उद्यममा टिक्यो भने मात्रै जीवनभरी उद्यम र व्यवसायमा लागि रहन सक्छन् । निरन्तर काम, उद्यम, पेसा वा व्यवसाय बदली रहने युवा सफल व्यवसायी वा उद्यमी हुने सम्भावना पनि कम हुन्छ ।
काम अर्थात् सिप सिकेर, बजारको चरित्र बुझेर, आफ्नो उत्पादन तथा सेवाको प्रतिस्पर्धाको अवस्था बुझेर निरन्तर मेहनत गर्ने युवा वा उद्यमीका लागि अवसरै नभएको भने होइन । नेपालमा नै प्रशस्त अवसर देख्ने र यही काम गर्नेहरू भनी नभएका होइनन् । अझ भारतबाट यहाँ आएर यहाँको अवस्थालाई आफ्नो अनुकूलतामा ढालेर काम गर्नेहरू हाम्रो बजारमा जताततै भेटिन्छ । त्यसैको परिणाम हो नेपालले विदेशबाट ल्याउने गरेको रेमिटको निकै ठुलो हिस्सा यताबाट भारतमा रेमिटकै रूपमा जाने गरेको छ ।
हाम्रा युवाले यहीका उद्यमीबाट सिक्न सक्छन् । सम्भावना पहिल्याउन सक्छन् । भारतबाट यहाँ आएर काम गर्नेहरू, उद्यम गर्नेहरूबाट सिक्न सक्छन् । यस्ता थुप्रै क्षेत्रहरू छन् जहाँ नेपाली युवाले नभई विशेष गरी भारतीय युवाले काम गरेर, व्यवसाय गरेर राम्रो आर्जन गरिरहेका छन् । यसमा ध्यान दिन आवश्यक छ ।
आजको खुल्ला विश्वमा पुँजी, बस्तु, सेवा र प्रविधिको सजिलै आयात–निर्यात भएजस्तै श्रमको आयात–निर्यातलाई रोक्न सजिलो छैन । विशेष गरी सन् नब्बेको दशक पछि विश्वभर फैलँदै गएका नेपालीले सुविधाजनक र अझ उन्नत स्तरको जीवनको खोजी गर्ने क्रमलाई सजिलै वा भावनात्मक रूपले मात्रै रोक्न सक्ने अवस्था छैन । त्यसैले देशमा शासकीय सुधार गरेर, सोचमा परिवर्तन गरेर, समय अनुकूलको परिस्थिति सिर्जना गरेर मात्र आजको युवालाई देशमा आकर्षित गर्न सकिन्छ ।
प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ५ : ३५ बजे
प्रतिक्रिया