‘एउटै नाउरको सिकार गर्न २३ लाख’

श्रीमतीको हत्या गरी रुखमा झुण्ड्याएर फरार दवाडी २१ वर्षपछि पक्राउ

काठमाडौं । श्रीमतीको हत्या अभियोगमा अदालतले जन्मकैद सजाय तोकेका फरार अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ ज्वालामुदी गाउँफालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन् । दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।

श्रीमतीको हत्याको २१ वर्षपछि दवाडीलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा २०५९ साल फागुन २८ गते बारीमा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुण्ड्याएका थिए । पछि उनले सानुमायाको शव धादिङ साबिक मैदी गाविसस्थित ग्याल्मा र बुढीगण्डकी दोभानमा लगेर जलाएका थिए ।

जिल्ला अदालतले उनलाई २०६१ साल जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उच्च अदालत पाटनले उक्त फैसला उल्ट्याएकोमा सर्वोच्च अदालतले २०६७ पुस ३ गते जिल्लाकै फैसला सदर गरेको थियो । दवाडी यसबीचमा भारतका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए । नेपालमा प्रवेश गरिरहेको सूचना पाएपछि ब्युरोको टोली दवाडीको खोजीमा रुपन्देही पुगेको थियो । दवाडीलाई जिल्ला अदालत धादिङमा बुझाइएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : १५ बजे