चट्याङले बुवा बिते, टुहुरो छोरा जलेर गम्भीर घाइते

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा न.५ बिनाबत्थीका ७ वर्षीय अभिषेक लुहार जलेर घाइते भएका छन् ।

गाईबस्तुका लागि पकाएको कुँडोमा परेर घाइते भएका उनको उपचारमा आर्थिक समस्या भएको छ । अभिषेकका बुवा महेशको ३ वर्ष अघि चट्याङ लागेर मृत्यु भएको थियो । बुवाको ३०वर्षको उमेरमा मृत्यु भएको र घरका सबै जना बेरोजगार भएकाले उपचारमा समस्या भएको अभिषेककी आमा शान्ती लुहारले बताउनुभयो ।

जलेका व्यक्तिको भरपर्दो उपचार स्थानीय स्वास्थ्य संस्थामा नहुने र टाढाका अस्पताल लैजान आर्थिक अभाव भएको उहाँले बताउनुभयो । गत शनिवार कुँडोमा परेर जलेका बालक अभिषेकको गोकुलेश्वर दार्चुला स्थित पोलिक्लिनिकमा प्राथमिक उपचार गरिएको छ ।

प्राथमिक उपचार खर्च समेत नभएपछि वडाध्यक्ष यज्ञराज भट्टले आर्थिक सहयोग गरेका छन् । गाउँपालिका प्रवक्ता समेत रहेका वडा अध्यक्ष भट्टले पालिकाबाट एम्बुलेन्सको व्यवस्थाको पहल गर्ने बताए पनि उपचार खर्च नहुँदा परिवारजनले अन्यत्र लगेका छैनन् ।

गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले पालिकाबाट उपचारमा सहयोग गरिने भएपनि तत्कालका लागि आवश्यक उपचार गराउन सुझाव दिनुभएको छ । अभिषेकको जलेर हात तथा पेटको छाला खुइलिएको छ ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ५० बजे