श्रीमती हत्यामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्यामा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका  छन्। विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले धादिङका ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दवाडीलाई माघ १ गते रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ बेलहियाबाट पक्राउ गरेको जानकारी दिए।

अंशसम्बन्धी विषयमा विवाद हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरी आफैले सतगत गरेका आरोपमा उनीविरुद्ध जिल्ला अदालत धादिङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा परेको थियो।

२०६१ साल जेठ ५ गते मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत धादिङले दवाडीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि उनी जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटन पुगेका थिए।  पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसला सदर गरिदिएपछि उनी फरार भएका थिए।

उनी भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको र हाल नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको खोजि तीव्र पारेको थियो। पक्राउ परेका दवाडीलाई थप कारवाहीका लागि जिल्ला अदालत धादिङ बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ४१ बजे