सडक खन्ने क्रममा सुख्खा पहिरो जाँदा दोलखामा एकको मृत्यु, दुई घाईते

दोलखा । दोलखाको बिगु गाँउपालिका वडा नम्बर– १ लामाबगरबाट चाईना जोड्ने नयाँ ट्रयाक खन्ने क्रममा आईतवार दिउँसो देउराली भन्ने ठाँउमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । 
नासा हाईड्रोपावरले खनेको नयाँ ट्रयाकको देउरालीमा आईतवार दिउँसो ३ः २० बजे एक्कासी सुख्खा पहिरो खस्दा हाईड्रोपावरका कामदार स्थानीय २२ बर्षको कुसन तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताउनु भयो । सुख्खा पहिरो खसेको उक्त स्थान लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरीएर २८ बर्षिय दिलकुमार तमाङ र ५८ बर्षिय रसमान तमाङ घाईते भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो । 
नयाँ ट्रयाक खन्ने क्रमममा माथिबाट सुख्खा पहिरो खसेर हाईड्रोपावरका कामदार पुरीएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लामाबगरबाट जनपथ प्रहरीका प्रहरी सहायक निरीक्षक कैलाश कार्कीको कमाण्डमा चार जना, शसस्त्र प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा पाँच जना र नेपाली सेनाको जमदारको नेतृत्वमा पाँच जनाको टोली पहिरो गएको स्थानमा पुगी उद्दार कार्य गरेका थिए ।  

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : २९ बजे