‘सेन्ट्रल जेल’को गोलघरबाट निस्किए गोरे

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य दोषी ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरबाट बाहिर निकालिएको छ ।

चालचलन सुध्रिएपछि गोरेलाई गोलघरबाट बाहिर निकालिएको केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले  जानकारी दिए ।

२०७८ असोज १९ गते जिल्ला अदालत मोरङले सनम शाक्यको हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । 

गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकिएको हो । 

३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । आपराधिक संगठन स्थापना गरेर सुन तस्करी तथा व्यक्ति बेपत्ता र हत्या गरेको आरोपसहित कुल १७ अर्ब १ करोड ८० लाख ७१ हजार रुपैयाँ बिगो माग दाबी गरिएको थियो ।

गोरेलगायत अभियुक्तहरू २०७५ जेठ १३ गते जेल चलान भएका थिए । 

जेलभित्रका अन्य कैदीबन्दीलाई समेत खतरा हुने खालका खुंखार अपराधीलाई गोलघरमा राख्ने गरिन्छ ।

केही महिनाअगाडि जेलबाट छुटेका बिकिनी किलर चार्ल्स शोभराजलाई पनि कारागार बसाइको अवधिभर गोलघरमै राखिएको थियो । 

गोलघरमा लामो समय बस्दा मानसिक र स्वास्थ्य समस्या आउन सक्ने खतरा हुन्छ ।

गोलघरमा हुने कैदीले बस्ने, सुत्ने र खाने लगायतका सबै दैनिकी एकैठाउँमा बिताउनु पर्छ । गोलघरमा आफैं खाना पकाउने र खाने अनि त्यहीँ सुत्ने व्यवस्था हुन्छ ।

जबकि बाहिर रहेका कैदीबन्दीले अन्यसँग भेट्ने, खेल्ने, मेसमा खाने लगायतका सुविधा पाउँछन् । लामो समय थुनिएर बस्दा मानसिक र स्वास्थ्य समस्या निम्तिने खतरा पनि हुन्छ ।

 

कारागारभित्रको कारागारका रूपमा चिनिने गोलघरबाट ‘गोरे’लाई केही समयअघि   बाहिर निकालिएको  हो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ०६ बजे