धनुषामा श्रीमान मृत्त, श्रीमती घाइते अवस्थामा फेला

जनकपुरधाम । धनुषामा एक पुरुष मृत्त र उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत्त फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत्त फेला परेका हुन् । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ । राधेसँगै गएका दुई जना साथीहरू भने फरार छन् र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । स्थानीयले भने घटना रहस्यम भएको बताएका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ११ : ५६ बजे