सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरामा सोमबारदेखि टाइगर कप भलिबल प्रतियोगिता हुँदै

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भोलि (सोमबार) देखि पोखरामा चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० सञ्चालन हुने भएको छ । माघ ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ दुई विदेशी टोली सहभागी भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताउनु भयो ।

 

उहाँका अनुसार सोमबार घरेलु टिम गण्डकी प्रदेश भलिबल सङ्घ विरुद्ध विभागीय टोली त्रिभुवन आर्मी क्लब बिच दिउँसो २ः३० बजे उद्घाटन खेल हुने भएको छ । पोखरा रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा सोमबार पुरुष तर्फको पहिलो खेल मध्यान्ह: १२ः३० बजे दुई विभागीय सशस्त्र प्रहरी बलको एपिएफ विरुद्ध नेपाल प्रहरी क्लब बिचको खेल हुने भएको अध्यक्ष शर्माले जनाउनु भयो । त्यसै गरी सोमबार महिला तर्फ दुई खेल हुने भएका छन् । पहिलो खेल बिहान ८ः३० बजे एपिएफ विरुद्ध  नेपाल पुलिस र अर्को खेलमा त्रिभुवन आर्मी क्लब विरुद्ध न्यू डायमण्ड एकेडेमी बिच खेल हुने भएको खेल संयोजक दीपक कार्कीले बताउनु भयो ।

 

प्रतियोगितामा पुरुष तर्फ श्रीलंकाको आर्मी टिम र महिला तर्फ भने भारतको हरियाणा पुलिस क्लब सहभागी हुने भएको उहाँले जनाउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष उक्त प्रतियोगितामा गण्डकी प्रदेशले महिला तथा पुरुष तर्फ सहभागी हुने भएको छ । त्यसै गरी नेपालका तीन विभागीय टोली नेपाल पुलिस, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला तथा पुरुष तर्फ सहभागी हुने भएका छन्। त्यस्तै पुरुष तर्फ हेल्प नेपाल स्पोट्र्स क्लब सहभागी हुने भएको छ भने महिला तर्फ न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब सहभागी भएको छ ।

 

उक्त पुरस्कार राशिमा भने केही वृद्धि गरिएको छ । लिगकम नकआउटका आधारमा हुने उक्त खेलमा विजेता टिम (पुरुष तथा महिला) लाई जनही ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । यस वर्ष प्रथम पुरस्कारमा ५० हजार वृद्धि भएको हो । उपविजेता पुरुष तथा महिलाको टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने भएको छ ।

 

 प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद २५÷२५ हजार ५ सय ५५ अन्य विधागत उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार ५ सय ५५ प्रदान गरिने भएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला ६÷६ टिमको सहभागिता हुने भएको छ ।

 

उक्त प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । नेपाल भलिबल सङ्घको स्वीकृति, सुश्री मिडिया प्रा.ली वानेश्वर काठमाण्डौको समन्वय एवं मुख्य मन्त्रीको कार्यालय गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगर पालिका, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल पोखरा, ग्रिन सिटी हस्पिटल काठमाण्डौं, रोड सो इन प्रा.ली अन्नपूर्ण केबुलकार, मनकामना केबुलकार, प्रभु बैङ्क, बतास अर्गनाईजेसन, माछापुच्छ्रे बैङ्क, मुक्तिनाथ विकास बैङ्क, केल्मी नेपाल काठमाण्डौंको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनु भयो । प्रतियोगितामा सहभागी खेलाडीहरूलाई उपयुक्त भत्ताको समेत व्यवस्था गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालका महासचिव डिबी नेपालीले बताउनु भयो ।

 

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : १८ बजे