‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चन्द्रागिरी कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो (अपडेट)

काठमाडौँ। हेटौंडा- थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरी नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमै र एक बालिकाको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौँबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो । गाडीमा सवारी ६ जनामध्ये एक जना भने हामफालेर बच्न सफल भएका छन् ।

दुर्घटनामा काठमाडौँ-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौँ–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी छन् । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ४ : २६ बजे