सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्व व्यापार सङ्गठनको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ । विश्व व्यापार सङ्गठनको शुक्रवारको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । 

परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमे गर्नुभएको प्रस्तावमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि उक्त सङ्गठनको अध्यक्षमा नेपाल पहिलो पटक निर्वाचित भएको  हो । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको २०औँ वर्ष मनाइरहँदा प्राप्त यो अवसर नेपालको लागि गौरको विषय हो ।

नेपालले उक्त पदको जिम्मेवारी यस वर्षको दोस्रो नियमित बैठकबाट आरम्भ गरी सन् २०२५ पहिलो नियमित बैठक सम्म सम्हाल्ने जेनेभास्थित नेपालको नियोगले जनाएको छ ।

विश्व व्यापार सङ्गठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भएता पनि पछिल्ला छलफल तथा बहसहरू विकास केन्द्रित हुने गरेका छन् । नेपाललाई विश्व व्यापार सङ्गठनको माराकेस सम्झौताको क्षेत्राधिकार भित्र रही व्यापार र विकाससँग सम्बन्धित विषयमा सदस्य राष्ट्रहरूलाई संयोजन गर्ने र साझा सहमति गराउने अवसर मिल्ने छ ।

समितिको अध्यक्षमा राजदूत सुवेदीको नियुक्तिले नेपाललाई विश्व व्यापार सङ्गठनका सदस्यहरुबीच विचार विमर्श र सहजीकरणका साथै विकास, व्यापार र लगानीका विषयमा विकास सरोकारवालाहरूसँगको संवादमा संलग्न हुन अवसर मिल्नेछ भने यो भूमिका दोहा कार्य योजनाअनुसार अति कम विकसित मुलुकका लागि व्यापारका लागि सहायताको परिचालन र मूलप्रवाहिकरण गर्ने सन्दर्भमा नेपालका निम्ति यो उपलब्धि हो । 

विश्व व्यापार सङ्गठनका अन्य निकायहरूमा रहेका अति कम विकसित मुलुकका हितका विषयवस्तुहरू सहजिकरण गर्न र अति कम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नति हुने चरणमा रहेका मुलुकका निम्ति अनुकूल वातावरण बनाउन गर्न महत्त्वपूर्ण हुनेछ । 

सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नतिको क्रममा रहेकाले नेपालको भूमिका अझ सान्दर्भिक हुने जेनेभास्थित नेपाली नियोगले जनाएको छ । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ३० बजे