काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएका छन् ।
जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा बुधवार ८ वर्ष कैद सजायको अन्तिम फैसला गरेसँगै उनले बुधवार नै क्यानलाई एक पत्र लेखेर राष्ट्रिय टिमबाट अलग भएको जानकारी दिएका हुन ।
जिल्ला अदालतले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो भने बुधवार उनलाई ८ वर्ष कैद सजाय र ३ लाख जरिवाना तथा २ लाख क्षतिपूर्ति भराउने आदेश भएको थियो ।
उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र लेखेर यसबारे जानकारी दिएको भनिए पनि यसबारे क्यानले हालसम्म औपचारिक जानकारी दिएको छैन । क्यानका अध्यक्ष चन्दले यो विषयमा आजै प्रेस रिलिजमार्फत जानकारी दिने बताउनुभयो ।
क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भए पनि न्यायका लागि माथिल्लो अदालतमा जाने उल्लेख गरेको बताइएको छ ।
प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार १० : ०० बजे
प्रतिक्रिया