काठमाडौं । विवादास्पद तपस्वी रामबहादुर बम्जनले पछिल्लो समय ध्यान नगर्ने गरेको पाइएको छ । प्रहरीकाअनुसार पछिल्लो दुई महिनादेखि उनी बूढानीलकण्ठस्थित घरमा बस्दै आएका थिए ।
उनी श्रीमतीसहित परिवारसँग बस्दै आएका हुन् । उनले घरमा ध्यान गर्ने गरेको अवस्था नरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
‘ध्यान गर्ने गरेको अवस्था देखिएन, ध्यान गर्दा आवश्यक पर्ने सामग्री केही थिएन,’ सीआईबीका अधिकारीले भने, ‘उनी दुई महिनादेखि बस्दै आएका हुन् । यो अवस्थाले उनले पछिल्लो समय ध्यान गर्ने गरेको खासै देखिएन ।’
बम्जन हिजो पक्राउ परेका थिए । पक्राउ पर्ने बेलामा उनी भाग्न खोजेको प्रहरीले जनाएको छ । उनको घरबाट तीन करोड तीन लाख नेपाली रुपैयाँ बरामद भएको थियो । त्यस्तै विभिन्न १७ देशका मुद्रासमेत बरामद भएको छ ।
आजको विनिमय दर अनुसार विदेशी मुद्राको ३० लाख ९२ हजार चार सय ६ रुपैयाँ नेपाली हुन आउँछ ।
पैसाको विस्तृत अनुसन्धान सिआइबीले अनुसन्धान गर्नेछ । यति धेरै पैसा घरमा राख्नु सामान्य मान्न नसकिने सीआईबीले जनाएको छ । यसको स्रोतबारे अनुसन्धान गर्ने सीआईबीले जनाएको छ ।
प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ३ : ०४ बजे
प्रतिक्रिया