साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने कि राजतन्त्र फर्काउने ?

हिजो पञ्चायत कालमा राजा बलियो हुँदा राजावादी हुँ भन्दै राज्यबाट प्रत्यक्ष लाभ लिएकाहरू पछि पञ्चायतको अन्त्य भएर राजा कमजोर भएपछि बहुदल कालमा काँग्रेस र कम्युननिष्ट बनेका थिए। तर राजतन्त्र कालमा झैँ राज्यबाट प्रत्यक्ष लाभ लिन नपाएपछि आज तिनै पात्रहरू फेरि राजावादी बनेर सडकमा देखिएका छन् र राजा आऊ देश बचाऊ पनि भन्दैछन्। ती मान्छेहरू वास्तवमा न हिजो राजावादी थिए न त आज लोकतन्त्रवादी, उनीहरू त अवसरवादी हुन्। तर अहिले पूर्व प्राविधिक राजा ज्ञानेन्द्र शाह तिनै अवसरवादीहरूको बलमा फेरि राजा हुने सपनाका साथ सडकमा भौँतारिएका छन्।

यो लेखक निर्धक्कका साथ भन्न सक्छ, “नेपालमा अब राजतन्त्र फर्किदैन्, पूर्व प्राविधिक राजा ज्ञानेन्द्र शाहलाई सडकमा हिँडाउनुस् कि उनका नाति हृदयेन्द्रलाई देखाउनुस्। किनभने लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र होइन, परिपूर्ण लोकतान्त्रिक गणतन्त्र हो।” यस प्रसङ्गलाई लिएर वैकल्पिक राजनीतिकर्मी केशव दाहाल ‘के तपाईँ राजावादी हो ?’ भन्ने शीर्षकको लेखमा लेख्छन्, “आजको बहस राजा होइन। आजको बहस दरबार होइन। आजको बहस हो, लोकतन्त्रको पूर्ण लोकतान्त्रीकरण।” बरु यतिखेर हामीले देशको अवस्थामा गुणात्मक सुधार ल्याउन र जनताको मनोविज्ञान सकारात्मक बनाउन के के बाधाहरू छन् र ती बाधाहरू हटाउन के के गर्नुपर्छ ? यी प्रश्नहरूमा बहस चलाउनुपर्छ।

यो लेखकको बुझाइ र अनुभवहरूले भन्छ, “लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउँदै बलियो बनाउन हामीले शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्थाको चरित्र परिपूर्ण लोकतान्त्रिक गणतन्त्रको चरित्रअनुरूपको बनाउन सक्नुपर्छ। अन्यथा राजनैतिक तथा संवैधानिक व्यवस्थामाथि प्रश्न उठिरहन्छ र जनतामा व्यवस्थाप्रति वितृष्णा र असन्तुष्टि बढिरहन्छ अनि देशमा राजनैतिक तथा संवैधानिक अस्थिरता पनि भइरहन्छ ।” त्यसैले आजको मुख्य मुद्दा र आवश्यकता शैक्षिक,  आर्थिक, प्रशासनिक,  न्यायिक र सामाजिक व्यवस्थालाई परिवर्तनको अनुकूल हुने गरी संरचनात्मक परिवर्तन गर्नु हो ।

राजनैतिक तथा संवैधानिक व्यवस्थाको चरित्र एकातिर शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्थाको चरित्र अर्कातिर हुँदा सुशासन भएन अनि राज्यले दिने सेवा र सुविधा गुणात्मक बनेन। जसले गर्दा जनतामा अस्वाभाविक रूपमा वितृष्णा र असन्तुष्टि बढिरह्यो। जनतामा बढेको त्यही वितृष्णा र असन्तुष्टीको जगमा कम्फर्टेबल सत्ता गठबन्धन चलेको छ र भ्रमपूर्ण लोकप्रियतावादले सामाजिक सञ्जाल र डिजिटल मिडियामा विदेशी मुद्रामा लगानी बढाएर मिसन २०८४ भन्दैछ। हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ, “जबसम्म राजनीतिमा कम्फर्टेबलवाद र भ्रमपूर्ण लोकप्रियतावादले चर्चा पाइरहन्छ, तबसम्म नेपालको राजनीति स्वच्छ र वैचारिक बन्दैन। अनि कम्फर्टेबलवाद र भ्रमपूर्ण लोकप्रियतावादका गतिविधिहरूले देशको राजनीति प्रदूषित बनाइरहन्छ।”

यही प्रदूषित राजनीतिलाई प्रयोग गरेर इण्डोवेस्टले आफ्नो प्रभाव र दबाब बढाउँदै छ। यही अवस्थालाई उपयोग गरेर १९ पुस २०८० शुक्रवारका दिन भारतीय विदेश मन्त्री एस. जयशंकरले भारतीय स्वार्थ बलियो हुने गरी सम्झौता गर्न कम्फर्टेबल सत्ता गठबन्धनलाई प्रयोग गर्न सफल भए। लोकप्रियतावाद मौन रह्यो। तर हामी भने कुरै नबुझी पुराना जति सबै खराब नयाँ जति सबै असल भन्ने गलत भाष्यमा रमाएका छौँ। परिणामस्वरूप नेपालमा बाह्य स्वार्थमा रमाएर काम गर्ने राजनीति बलियो भएर सत्तामा कायम छ।

यति बेला रवी लामिछानेलाई लागेको छ, जनतामा बढेको वितृष्णा र असन्तुष्टीको जगमा ठुलो दलको ठुलो नेता बन्छु र प्रधानमन्त्री पनि हुन्छु। तर रवीमा राजनीतिक नेता हुन, पार्टी बनाउन अनि प्रधानमन्त्री पनि हुन आफ्नो निकट विगत, चरित्र र नैतिकता बाधक छ अनि राजनीतिमा नेता हुन विचार र दूरदर्शिता पनि हुनुपर्छ भन्ने सामान्य चेत पनि देखिएन। आज रवी स्टन्ट गर्दै र भ्रम छर्दै राजनीति मात्र गरिरहेका छैनन् इण्डोवेस्टको स्वार्थमा कम्फर्टेबल सरकारले नेपालको स्वार्थ विपरीत सम्झौता गर्दा पनि मौन बसेर त्यो सम्झौताको मौन समर्थन गरेका छन्।

सञ्चार माध्यमहरूले पनि राष्ट्रको गन्तव्य र सङ्कल्प थाहा नभएकाहरूलाई हिजोआज हिरोको रूपमा प्रस्तुत गरिरहेका छन्। तिनै हिरोहरू अहिले भन्दैछन्, मेरो र हाम्रो गन्तव्य स्पष्ट छ। तर हामीले भ्रममा परेर सञ्चार माध्यमहरूको यो बदमासी र ती खराब पात्रहरूलाई चिन्न र तथ्यसङ्गत विरोध गर्न सकिरहेका छैनौँ। यसले उनीहरूको मनोबल बढेको तिनका अभिव्यक्ति र गतिविधिहरूबाट थाहा पाउन सक्छौँ। त्यसैले ती खराब सञ्चार माध्यम र हिरोहरूको बदनियतका बारेमा समय मै जनतालाई बुझाउनुपर्छ अन्यथा खराबहरू नेतृत्वमा पुग्छन् अनि देश पछाडि पार्ने रणनीतिक षडयन्त्र सफल हुने वातावरण बनिरहन्छ।

नेपालको राजनीतिमा नवउदारवाद र उपयोगितावाद मिलेर कम्फर्टेबल सत्ता गठबन्धन चलाएका छन् भने भ्रमपूर्ण लोकप्रियतावाद हिरो गिरी गरेर जनतालाई भावनात्मक रूपमा भड्काउन भ्रमका खेती गरिरहेका छन्। यी दुई पक्ष रूपमा फरक देखिएता पनि सारमा उनीहरू एक अर्कालाई सहयोग गरिरहेका हुन्छन् । यसको एउटा मुख्य उदाहरण रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन यी दुवै पक्ष एक ठाउँमा उभिएका थिए। फेरि नागरिकता विधेयकमा दुवै पक्ष एकै ठाउँमा देखिए किनभने उनीहरूको राजनीतिक चरित्र पनि उस्तै-उस्तै छ तैपनि बेग्लै देखिन खोज्दैछन्।

समग्रमा भन्नु पर्दा कम्फर्टेबलवाद र भ्रमपूर्ण लोकप्रियतावादका कारणले लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने राजनीतिक यात्रामा अवरोध गरेर नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने उद्देश्यबाट निर्देशित भइरहेका छन्। तर जनताले तिनका बदनियत बुझ्न सकिरहेका छैनन् किनभने कम्फर्टेबलवाद र भ्रमपूर्ण लोकप्रियतावाद मिलेर जनता खासगरी नयाँ पुस्तालाई भ्रमित बनाएर गलत बाटोमा लाग्न बाध्य पारिरहेका छन्। यसको पछिल्लो ज्वलन्त उदाहरण बालकुमारी घटनालाई लिन सकिन्छ। हिजो हाम्रा पुरानो पुस्ताले देश जोगाउन छातीमा गोली थापेका थिए तर आजको पुस्ता देश छोड्न र त्याग्न पाउनुपर्छ भन्दै अराजक भएर नारा लगाउँछन् र गठबन्धन गोली चलाएर परिस्थिति झन् अराजक बनाउन सघाउँदैछन्। यस्तो मनोविज्ञान नयाँ पुस्तामा किन विकास हुँदैछ? चिन्ताको विषय बनेको छ।

यही अराजक मनस्थिति र परिस्थितिलाई राजावादीहरूले राजतन्त्र फर्काउने अवसर ठानेका छन्। त्यसैले त पूर्व प्राविधिक राजा ज्ञानेन्द्र नाति हृदयेन्द्र देखाएर भन्दैछन्, म नजिकबाट देशको अवस्था हेरिरहेको छु। राजा आऊ देश बचाऊ भनेको सुनेको छु, तर म कतै गएको छैन, म यही छु। तर कति नजिकबाट र कता छन् उनी आफैलाई पत्तो छैन किनभने उनी कहिले दुर्गा प्रसाईँले बनाएको मञ्चमा देखिन्छन् त कहिले राजेन्द्र लिङ्देनले बनाएको मञ्चमा उभिन्छन् अनि कहिले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटिन्छन्। ज्ञानेन्द्रले बुझ्नुपर्थ्यो, अब नेपालमा राजतन्त्र फर्कने राजनीतिक, सामाजिक र कूटनीतिक आधार छैन। बरु यति बेला ज्ञानेन्द्र शाह पूर्व राजाको हैसियतमा प्राप्त सम्मान उपभोग गरेर र वरिष्ठ नागरिक भएर अघि बढ्न रमाउनु पर्छ न कि नातिलाई अनावश्यक रूपमा राजा बनाउने सपना देखाएर उनको भविष्यको यात्रा धूमिल बनाउने।

“यो शताब्दी नयाँ पुस्ताको शताब्दी बनाउनका लागि उनीहरूलाई नयाँ चरित्रको शिक्षा व्यवस्थाबाट प्रशिक्षित र दीक्षित गरिरहनुपर्छ। त्यहीअनुसार राष्ट्रिय नीति र कार्यक्रमसहित पर्याप्त लगानी सुनिश्चित गर्दै पूर्वीय चिन्तन प्रणाली अर्थात् विश्व दृष्टिकोणको जगमा शिक्षा व्यवस्थाको विकास गर्नुपर्छ र लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने देशभक्त प्रगतिशील लोकतान्त्रिक राजनीति बलियो बनाउनुपर्छ न कि राजतन्त्र फर्काउने राजनीति गरेर देशमा नियन्त्रित अस्थिरता बढाउने।

जन्मिँदै श्रेष्ठ हुने र शासक बन्ने वंश परम्परा आजको नेपाली चेतनाले स्वीकार गर्न सक्दैन। त्यसैले राजतन्त्र फर्काउने राजनीतिको पक्षमा होइन, लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउँदै समृद्ध नेपाल सुखी नेपाली बनाउने लोकतान्त्रिक राजनीतिको पक्षमा हामीले हाम्रा सामर्थ्यहरू प्रयोग गर्न सक्नुपर्छ। त्यसैले देश जोगाउन र समृद्ध बनाउन जनता जाग्नुपर्छ र बलियो हुनुपर्छ न कि अब राजसंस्था फर्काएर देश बलियो र समृद्ध बन्न सक्छ। अन्तमा लोकतान्त्रिक गणतन्त्रको विकल्प परिपूर्ण लोकतान्त्रिक गणतन्त्र नै हो भनेर हामी नेपालीहरूले बुझ्नुपर्छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ४० बजे