दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बल्ल भित्रिन थाल्यो ३० हजार मेट्रिकटन युरिया मल

वीरगंज । कृषि सामग्री कम्पनीले आपूर्ति गर्न लागेको ३० हजार मेट्रिकटन युरिया मल बीरगंज नाका हुँदै नेपाल भित्रिन थालेको छ । 

आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय २१ को युरिया मल भित्रिन थालेको छ । २ हजार ५ सय मेट्रिक टन युरिया मल बोकेको पहिलो रेल्वे ¥याक बिहीबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भित्रिएको र सो मल अहिले भैरहवा तर्फ जाने क्रम शुरु भई सकेको कृषि सामग्री कम्पनीका प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी आज सुख्खा बन्दरगाह आइपुगेको अर्को ¥याकको २ हजार ५ सय मेट्रिकटन युरिया मल भने कृषि सामग्री कम्पनीको बीरगंज स्थित क्षेत्रिय गोदामबाट वितरण गरिने तयारी भई रहेको कम्पनीका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।  

ग्लोबल टेन्डरबाट ठेक्का पाएको आदित्य बिरला कम्पनीले यो कन्साइन्मेन्टबाट कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आपूर्ति गरिरहेको छ । यी दुई बाहेक स्विस सिंगापुर कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय १५ को ३० हजार मेट्रिक टन युरिया मल पनि कलकत्ता बन्दरगाह आइसकेको र उक्त मल पनि यसै साता देखि क्रमशः भित्रिने पाण्डेले बताउनुभयो । 

मल भित्रिए लगत्तै माग भएका जिल्लाहरूमा क्रमशः परिचालन समेत गरिनेछ । हाल किसानलाई गहुँ बालीका लागि युरिया मलको आवश्यकता छ । कोटा छुटाइएको मधेस प्रदेशका जिल्लाहरूमा तथा जिम्मेवारी रहेका बाग्मती प्रदेशका जिल्लाहरूमा समेत प्रादेशिक कार्यालयबाटै मल परिचालन गरिने पाण्डेले बताउनुभयो । 

ठूलो मात्रामा मल भित्रिसकेपछि अब गहुँ बालीका लागि मलको अभाव नहुने पनि पाण्डेले दाबी गर्नु भयो । यस बाहेक कम्पनीले धान सिजनलाई लक्षित गरी ठूलो मात्रामा युरिया र डिएपी मल भित्र्याउन लागेको समेत पाण्डेले बताउनु भयो । धान बालीका लागि कम्पनीले ५ वटा कन्साइन्मेन्टमा गरी युरिया, डिएपी र पोटास मल भित्र्याउन थालेको छ । 

३०/३० हजार मेट्रिक टन युरिया मल आयातको ३ वटा कन्साइन्मेन्ट, २० हजार मेट्रिक टन डिएपी आयातको एउटा कन्साइन्मेन्ट र १० हजार मेट्रिक टन पोटास आयातको एउटा कन्साइन्मेन्ट रहेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ०४ बजे