राष्ट्रपति भवनमा घटस्थापना

सर्लाही गोली काण्ड : दोषीमाथि कडा कारबाही गर्ने सिडिओको प्रतिबद्धता

​​​​​​​सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको घटनाका दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ धमलाले स्थानीयवासीसँग संयमता अपनाउन अपिल गर्दै सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले मानवीय क्षतिको उचित सम्बोधनको प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त घटनालाई लिएर थप अप्रिय घटना घटन नदिनेतर्फ जिल्ला सुरक्षा समिति संवेदनशील रहेको व्यहोरा उनको अपिलमा उल्लेख छ ‌।

वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भइरहेको उनको भनाई छ ।

मृतक साहको शव अहिलेसम्म सडकमै छ । पीडित परिवारले साहलाई शहिद घोषणा, बरहथवाका मेयर र गोली चलाउनेलाई कारबाही, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी मृतकको नामबाट नामाकरण र शालिक निर्माण गर्नुपर्नेसहितका माग राखेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : ४१ बजे