सुनको मूल्यमा नयाँ कीर्तिमान

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णाली । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रवार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो । 

अन्तर्क्रिया कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताउनुभयो । प्रदेशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय समेत स्थापना नगरिएकामा उहाँले गुनासो गर्नुभयो । 

“आर्थिक हिसाबले चिया र कफी खेती व्यावसायिक रूपमा हुन जरुरी छ”, उहाँले भन्नुभयो । मन्त्री शर्माले खेती प्रवर्द्धनका लागि प्राविधिक जनशक्ति उपलब्ध गराउन विकास बोर्डसँग अनुरोध गर्नुभयो । 

कर्णाली प्रदेशसभा सदस्य द्वय विन्दुमान विष्ट र घनश्याम भण्डारीले अन्य प्रदेशमा विकास बोर्ड कार्यालय स्थापना, उत्पादन तथा बजारीकरणका काम भइरहँदा कर्णालीमा त्यसो नगरिएकामा आपत्ति प्रकट गर्नुभयो । 

बराह ताल गाउँपालिका–३, सुर्खेतका कफी कृषक मोहनकुमार आचार्यले प्राविधिक ज्ञान नहुँदा लगाएको कफी मास्नु परेको र फलेको कफी पनि बिक्री नभएको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले कर्णालीमा चिया र कफीको अत्यन्त सम्भावना रहेको बताउनुभयो । “यसको खेतीमा जोड दिन सबै स्थानीय तहको अग्रसरता, प्रदेश तथा सङ्घीय सरकारको समन्वय एवं सहयोग आवश्यक छ ।”

छलफलको क्रममा चिया तथा कफी विकास बोर्ड कार्यालय प्युठानका प्रमुख सिपी बस्नेतले सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेका उल्लेख गर्नुभयो । 

सिद्धार्थ बहुउद्देश्यीय सहकारीका सचिव तुला रम सिंजालीले चिया तथा कफी खेतीसम्बन्धीको कुनै पनि ज्ञान, सीप र जनशक्ति नहुँदा किसानले उत्पादनलाई खेर जान नदिन आफूहरूले खरिद गरेको बताउनुभयो । 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ५५ बजे