राष्ट्रपति भवनमा घटस्थापना

जनकपुरधामबाट हिँडेको भार यात्रालाई वीरगन्जमा भव्य स्वागत सहित बिदाइ

वीरगन्ज । भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट अयोध्याका लागि हिँडेको भार यात्रालाई आज बिहान वीरगन्जमा भव्य स्वागत गर्दै बिदाइ समेत गरिएको छ ।

वीरगन्ज रक्सौल नाका हुँदै आज बिहान १० बजे भार यात्रा भारतको अयोध्यातर्फ लागेको छ । 

वीरगन्जमा आज बिहान आयोजित एक भव्य कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख राजेशमान सिंह, मारवाडी सेवा ट्रस्टका अध्यक्ष बाबुलाल सहितको टोलीले जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं भार यात्राका संयोजक रामरोशन दास वैष्णव सहितको सयौँको सङ्ख्यामा रहेका भार यात्रीहरूलाई बिदाइ गरेको छ । 

जानकी मन्दिर परिसरबाट बिहीबार बिहान सुरु भएको भार यात्रा हुलाकी राजमार्ग हुँदै आज बिहान ४ बजे वीरगन्ज आईपुगेको थियो । 

भार यात्रामा सहभागीहरूलाई महोत्तरी, सर्लाही,रौतहट, बारा र पर्सामा भव्य स्वागत गरिएको थियो । रातको समयमा समेत हजारौँ हिन्दु धर्मावलम्वीहरुले भार यात्रामा सहभागीहरूको फुलमाला, अबिर, मिठाई वितरण गरी स्वागत गरेका थिए । 

जानकी माताको मन्दिरबाट लगिएको पाहुर अयोध्यास्थित राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । पाहुरमा विभिन्न प्रकारका कपडा, चाँदी सुनका गरगहना, आभूषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवान्रहरु रहेको छ । 

यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । वीरगन्जबाट समेत भार यात्रामा पाहुरको रुपमा वीरगन्ज महानगरपालिका, वीरगन्जका उद्योगी व्यवसायी, प्रहरी प्रशासनको तर्फबाट कोसेली पठाइएको छ । 

वीरगन्जबाट बिदाइ भएको भार यात्रालाई भारतको रक्सौलमा समेत भव्य स्वागत गरिएको थियो । भार यात्रा भारतको रक्सौलबाट बेतिया, कुशी नगर, सिद्धार्थ नगर, गोरखपुर हुँदै अयोध्या पु¥याउने कार्यक्रम रहेको छ । 

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम रहेको भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ३२ बजे