भरतपुरमा अण्डा र कुखुराको मासुको महोत्सव 

काठमाडौँ । अण्डा र कुखुराको मासुको महत्त्व आम नागरिकलाई बुझाउन चितवनको भरतपुरमा अण्डा र कुखुराको मासुको महोत्सव आयोजना गरिएको छ । 

एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव आयोजना गरिएको हो ।

यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो । महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो । 

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्त्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताउनुभयो । कुखुराको मासु र अण्डाको महत्त्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उहाँको भनाइ थियो ।

मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीहरूलाई असर पारेको बताउनुभयो । 

दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।  सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा र कुखुराको मासुको महत्त्व बारेमा जानकारी गराइएको थियो । यस क्रममा २६  सरकारी विद्यालयका एक हजार नौ सय ४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे जानकारी गराइएको छ । 

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ४३ बजे