अन्नपूर्ण क्षेत्रमा एक लाख ९१ हजार विदेशी पर्यटकले गरे भ्रमण 

काठमाडौँ । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटकहरूले भ्रमण गरेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो ।  त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका र अन्य देशका पर्यटक भने घटेको पाइएको जानकारी दिनुभयो ।

सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । 

सो अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्कमा उल्लेख  छ । 

तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । 

गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको चर्चा थप चुलिएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ३४ बजे