राष्ट्रपति भवनमा घटस्थापना

बाँकेको नौवस्ता बाल सुधार गृहका बालबन्दीसँग सहमति,फरार १४ बालबन्दीको खोजी हुँदै

नेपालगन्ज । बाँकेको नौवस्तास्थित बाल सुधार गृहका बालबन्दी र स्थानीय प्रशासनका बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै गत शनिवारदेखि तनावग्रस्त सुधार गृह शान्त बनेको छ ।

बैजनाथ गाउँपालिका–२ स्थित नौवस्ता बाल सुधार गृहका कैदीहरूका आधारभूत मागहरू सम्बोधन गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

स्थानीय प्रशासन र कैदीहरूको बिचमा गुणस्तरीय खानेपानीको आपूर्ति, मनोरञ्जनको व्यवस्था र पढ्ने वातावरण मिलाउने, उपचारको प्रबन्ध गर्ने र सुधार गृहभित्र सीपमूलक तालिम सञ्चालन गर्ने सहमति भएको छ । 

त्यस्तै सुधार गृहमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने पनि सहमति भएको पोखरेलले जानकारी दिनुभयो । सहमतिसँगै कैदीहरू दुई वटा ब्लकमा बस्न सहमत भएका हुन् ।

सुधार गृहबाट १४ जना बालबन्दी फरार भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

बाल सुधार गृहमा शनिवार दिउँसोदेखि झडपसँगै तोडफोड भएपछि स्थिति प्रहरी नियन्त्रण बाहिर गएको थियो । आक्रोशित बालबन्दीले कसैलाई भित्र जान दिएका थिएनन् भने सरकारी सवारी साधन समेत तोडफोड गरेका थिए ।

झडपमा आधा दर्जन बालबन्दी घाइते समेत भएका थिए । नौबस्ता बाल सुधार गृहमा १ सय १६ जना बालबन्दी रहेका छन् । बाँके लगायत विभिन्न ठाउँबाट ल्याइएका उनीहरू सबै १८ वर्षमाथिका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : १२ बजे