काठमाडौं । जापानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुको निरन्तर उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।
यो भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १५५ वटा परकम्प गएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार ११ : ३३ बजे
प्रतिक्रिया