दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लाइन काटिएको हिमाल आइरनले पहिलो किस्ता बुझाएपछि विद्युत् जोडियो

काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेपछि लाइन काटिएको वीरगन्जस्थित हिमाल आइरन एन्ड स्टिलले विद्युत् प्राधिकरणलाई पत्राचार गर्दै महसुल तिर्ने प्रतिबद्धता जनाएको छ ।

पहिलो किस्ता तिरेपछि सोमबार राति नै उद्योगमा लाइन जोडिएको छ । त्यस्तै, एड्भान्स समूहको रोल्पा सिमेन्टले पनि बक्यौता तिर्ने प्रतिबद्धतासहितको पत्र पठाएको प्राधिकरणले जनाएको छ । ज्योति समूहले सञ्चालन गरेको हिमाल आइरनको आठ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता थियो । यो उद्योगले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । बाँकी रकम ३६ किस्तामा तिर्ने प्रतिबद्धता गरेको छ ।

बक्यौता नतिरेपछि गत शुक्रबार प्राधिकरणले यो उद्योगको लाइन काटेको थियो । त्यस्तै, रोल्पा सिमेन्टको पाँच करोड ७३ लाख ६३ हजार बक्यौता छ । उसले पनि किस्तामै बक्यौता तिर्ने प्रतिबद्धता गरेको छ । ‘हामी किस्तामा बक्यौता तिर्छाैँ, विद्युत् आपूर्ति कटौती नगर्नुस्’ भन्ने आग्रहसहित रोल्पा सिमेन्टको पत्र प्राप्त भएको प्राधिकरण स्रोतले बताएको छ ।

लोडसेडिङ भएको वेला प्राधिकरणले ०७२ साउनदेखि उद्योगहरूलाई ६५ प्रतिशत प्रिमियममा २४ घन्टासम्म विद्युत् उपलब्ध गराएको थियो । तर, त्यसको प्रिमियम महसुल अहिले विवादमा छ । जरिवाना र ब्याजसहित ५९ उद्योगको २२ अर्ब ४० करोड बक्यौता छ । महसुल नतिरेको भन्दै प्राधिकरणले ६ पुसदेखि उद्योगहरूमा विद्युत् आपूर्ति कटौती गर्दै आएको छ । हालसम्म २३ उद्योगको लाइन काटिएको छ  ।

विद्युत् नियमन आयोगले पुरानो सर्त पूरा भएमा ३१ वैशाख ०७५ देखि ०७७ जेठसम्मको अवधिमा पनि डेडिकेटेड फिडर र ट्रंक लाइनसरह (थप ६५ प्रतिशत प्रिमियममा) विद्युत् महसुल लिन पाउने नीतिगत निर्णय गरेको छ । ३१ वैशाख ०७५ मा लोडसेडिङ अन्त्य भएपछि पनि प्राधिकरणले विभिन्न उद्योगलाई प्रिमियम बिल पठाएको विषय पनि अहिले विवादमा छ, सोही सन्दर्भमा आयोगको सोमबार सम्पन्न २१८औँ बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : ३६ बजे