नेपालगञ्जमा स्कार्पियोको ठक्करबाट २ पैदलयात्रुको मृत्यु

बाँके। बाँकेमा स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१८ को कारकाँदो एसके पेट्रोल पम्म नजिकै गएराति सु.प.प्र. ०१-०० च ३४६३ नम्बरको स्कार्पियो कार अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज १३ निवासी अन्दाजी २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा २५ वर्षीया सहाना साह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने स्कर्पियोका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : २१ बजे