“देशभक्त प्रगतिशील लोकतान्त्रिक शक्ति बलियो नबन्दासम्म देश समृद्ध र बलियो बन्दैन ।”
समृद्धिका लागि सङ्कल्प यात्राको समीक्षा हुँदै गर्दा नेकपा एमालेको मूल नेतृत्वको क्षमताको पनि परीक्षा हुँदैछ । वैचारिकता, दूरदर्शिता, अध्ययनशीलता, प्रतिबद्धता, इमानदारिता, धैर्यता, नैतिकता, सच्चरित्रता, त्याग र योगदानहरू नेतृत्वको क्षमता मानिन्छ । आज एमाले नेता तथा कार्यकर्ताहरूमा जनताले यी माथिका क्षमताहरू खोजेका छन् भने समृद्धिका लागि सङ्कल्प यात्राले नेता तथा कार्यकर्ताहरूलाई त्यो अवसर जुराइदिएको छ।
एमालेजनहरूले बुझ्नुपर्छ, “नेपालमा बलियो राजनीतिक शक्ति बन्न नदिने रणनीतिअन्तर्गत नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन माधव, झलनाथ र प्रचण्ड (माझण्ड) हरूलाई प्रयोग गरिएको थियो। अहिले पनि केही पात्रहरू एमाले हुँ भन्दै एमाले नै कमजोर बनाउने गतिविधिहरू गरिरहेका छन्।” त्यसैले एमालेका नेता तथा कार्यकर्ताहरूले आज पार्टीले बाहिरबाट मात्र होइन, पार्टीभित्रैबाट पनि चुनौतीहरूको सामना गर्नु परेको यथार्थ स्वीकार गर्न सक्नुपर्छ।
राजनीतिमा लागेका त्यसमा पनि सच्चा देशभक्त तथा कम्न्युनिष्ट राजनीति गर्छु भन्नेहरूले माओत्सेतुङको यो भनाइको सारलाई मनन गर्नुपर्छ, “यदि तिमी दुनियाँ बदल्ने आँट गरेका छौँ भने यातनाका प्रत्येक दस्ताबेजमा हस्ताक्षर गर्नै पर्छ, चाहे तिम्रो भागमा मृत्यु नै किन नपरोस्।” किनभने देशभक्त तथा प्रगतिशील लोकतान्त्रिक राजनीति गर्नेहरूलाई कमजोर बनाउन आन्तरिक तथा बाह्य दक्षिणपन्थी शक्तिहरूले सधैँ षडयन्त्र गरिरहेका हुन्छन्। हिजो त्यही षडयन्त्रले रत्नकुमार वान्तवादेखि लिएर मदनकुमार भण्डारीसम्मको हत्या गरेको थियो। विचारमा प्रतिबद्ध सच्चरित्रवान नेता तथा कार्यकर्ता विरुद्ध दक्षिणपन्थीहरूले सधैँ षडयन्त्र गरिरहेका हुन्छन्।
समृद्धिका लागि सङ्कल्प यात्राले देखाएको बाटो चिनेर अगाडि बढ्न सकियो भने नेकपा एमालेका लागि मात्र होइन, देश र जनताका लागि पनि सुवर्ण अवसर हुनेछ। अहिले कम्फर्टेबलवाद र लोकप्रियतावादसँगै राजावादीहरू मिलेर दिइरहेको चुनौतीलाई अवसरमा बदलेर समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने जिम्मेवारी नेकपा एमालेमाथि आएको छ । यो आजको वास्तविक चुनौती हो। त्यसैले राजनीतिमा थकाई हुन्न भन्ने जननेता मदन भण्डारीको भनाइलाई आत्मसात् गरेर इमानका साथ अगाडिको यात्रा तय गर्नुपर्ने छ।
अब मुख्य प्रसङ्ग समृद्धिका लागि सङ्कल्प यात्राको नारा “सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय” लाई लिएर चर्चा गरौँ। गाउँघर किन खाली हुँदैछ ? खेतबारी बाँझो किन छोडिँदै छ ? गाउँबाट सहर बसाइसराइ र सहरबाट देश छोडेर परदेशिने संस्कृति किन बढ्दै छ ? अहिले राजनीतिमा स्टन्ट र भ्रम किन लोकप्रिय बन्दैछ ? नवउदारवाद र उपयोगितावादको फ्युजन गराएर बनाइएको कम्फर्टेबल सत्ता गठबन्धनबाट देश र जनता किन पीडित हुनु परिरहेको छ ? यी माथिका चार प्रश्नहरूको सही उत्तर खोज्नलाई समृद्धिका लागि सङ्कल्प यात्राले नेतृत्वलाई झकझक्याएको हुनुपर्छ। तर नेतृत्वलाई कति झकझक्यायो ? यसको उत्तर भोलिका दिनमा उनीहरूले लिने रणनीतिले तय गर्नेछ।
गाउँका मान्छे सहर, सहरका मान्छे परदेश जाने संस्कृतिलाई रोक्न गाउँ र सहरलाई समृद्ध बनाउनुपर्छ। मुख्य कुरो सहरमा पाउने सेवा सुविधा गाउँसम्म पुर्याउने र सहरलाई जीवित बनाउने रणनीति अख्तियार गर्नुपर्छ। खेतबारी बाँझो राख्ने प्रवृत्तिलाई रोक्न किसानमुखी नीति तथा कार्यक्रम बनाउनुपर्छ। जमिनको वैज्ञानिक वर्गीकरण गरेर भूउपयोग नीतिलाई कार्यान्वयनमा लैजाने इच्छाशक्ति हुनुका साथै गाउँमै सुविधा पुर्याउन राज्यले लगानी बढाउनुपर्छ। यस सन्दर्भमा समाजशास्त्री चैतन्य मिश्रको विचारलाई आत्मसात् पनि गर्नुपर्छ। मिश्र भन्छन्, “गाउँले जीवनलाई सहज बनाउन र ग्रामीण क्षेत्रलाई पुनर्व्यवस्थित गर्न शिक्षासँगै स्वास्थ्य सेवामा पनि सुधार गर्नुपर्छ ।”
“गाउँको विकास भनेको गाउँहरूमा बसोबास गर्ने मानिसहरूको जीवनको गुणस्तर र आर्थिक सुस्वास्थ्य सुधार गर्ने प्रक्रिया हो, जुन प्रायः तुलनात्मक रूपमा पृथक् र थोरै जनसङ्ख्या भएको क्षेत्र हो ।”
माथिको परिभाषाअनुसार पनि गाउँको विकास भनेको सडक मात्र होइन, जीवनका लागि आवश्यक पर्ने २१औँ शताब्दी सुहाउँदो न्यूनतम सेवा तथा सुविधासहित स्तरीय भौतिक सुविधाहरूको उपभोग गर्ने अवसर प्रदान गर्नु हो । अनि गाउँ र सहरबीचको सम्बन्ध सुमधुर र सहयोगी बनाउनु पनि विकासको उद्देश्य हुनुपर्छ। यसका लागि गाउँमुखी वैचारिक प्रगतिशील लोकतान्त्रिक राजनीति आवश्यक भएको छ । यो राजनीतिको नेतृत्व एमालेले गर्न सक्नुपर्छ।
हामीले बुझ्नुपर्छ, विकासले गाउँको शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक र भौतिक पूर्वाधारलाई गुणस्तरीय बनाउन र सबैको पहुँच बढाउन सक्नुपर्छ। विकासले गाउँले जनजीवनमा गुणात्मक र सकारात्मक परिवर्तन ल्याउने राजनीतिको आवश्यकता र अनिवार्यतालाई बुझेर होलिस्टिक एप्रोचका साथ देश विकासको दृष्टिकोण सार्वजनिक गरेर यसलाई राष्ट्रिय बहसको मुद्दा बनाउनुपर्छ। अनि मात्र “सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय” भन्ने नाराले सार्थकता पाउने छ।
गाउँ सहर र देशलाई समृद्ध बनाउने आधारहरू के के हुन् ? नागरिकलाई गाउँघर र देशमा नै रमाउने बनाउने उपायहरू के के हुन्? कृषि, पर्यटन, स्वास्थ्य र शिक्षामा के के गरियो भने त्यसमार्फत ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ? ग्रामीण प्राकृतिक तथा सांस्कृतिक पक्षलाई पर्यटनको आधार कसरी बनाउने? महँगै भएता पनि नागरिकमा आफ्नो स्वदेशी उत्पादन खरिद गरेर उपभोग गर्ने स्विस संस्कृतिलाई नेपालमा कसरी स्थापित गर्ने? यी प्रश्नहरूमा हामी सबै सरोकारवालाहरू स्पष्ट हुनुपर्छ ।
“हिँडेर उन्नति हुन्छ भने हिँड्ने ट्र्याक बनाऔँ, दौडेर उन्नति हुन्छ भने दौड्ने ट्र्याक बनाऔँ, गुडेर उन्नति हुन्छ भने राजमार्ग बनाऔँ र उडेर उन्नति हुन्छ भने विमानस्थल बनाऔँ। नकि हिँड्ने ट्र्याकमा राजमार्ग बनाउने गल्ती नगरौँ।”
आज हामी सबैले बुझ्नुपर्छ, “राम्रो गुणस्तरीय शिक्षा सबल अर्थतन्त्र बनाउने बलियो आधार हो। गुणस्तरीय शिक्षा विकासको उच्चतम रूप हो भने स्तरीय सार्वजनिक संस्था, सेवा र सुविधाहरू त्यसको मुख्य सूचक हो।” यो भनाइले देश समृद्ध र बलियो बनाउने आधार र सूचक देखाएको छ। ती आधार निर्माण गर्न राज्य र नागरिकहरूको लगानी बढ्नु पर्छ। राज्यले बुझ्नुपर्छ, जो नागरिक आफैमा मानसिक र आर्थिक रूपमा सबल हुन्छ, उसले देशको समृद्धिमा सकारात्मक र रचनात्मक योगदान गर्न सक्छ। अनि मात्र देश समृद्ध र बलियो बन्छ। अनि नागरिकहरूले बुझ्नुपर्छ, देश समृद्ध र बलियो बनाउन देशभित्रै आफ्ना क्षमताहरू उपयोग गर्ने मनस्थिति बनाउनुपर्छ।
विशेषतः देश समृद्ध र बलियो बनाउन
- सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्छ।
- नागरिकलाई देशभित्रै उत्पादन र सेवा क्षेत्रमा क्रियाशील हुने वातावरण बनाउनुपर्छ।
- नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीति त्याग्नुपर्छ।
- दातामुखी होइन देशमुखी नीति लिनुपर्छ।
- विचारबाट निर्देशित प्रगतिशील लोकतान्त्रिक राजनीतिक शक्तिलाई बलियो बनाउनुपर्छ।
- बलियो र स्थिर सरकार चलाउने जबजमा आधारित वैचारिक राजनीति गर्नुपर्छ।
गुणस्तरीय शिक्षा समावेशी बनाउनु पर्छ। विद्यालय जाने उमेरका सबै बालबालिकाहरूलाई कुनै भेदभावविना गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउनु राज्यको मुख्य दायित्व हो। किनभने शिक्षामा समावेशिता शैक्षिक रूपान्तरणको मुख्य सिद्धान्त हो। यसर्थ भेदभावविना शैक्षिक गतिविधिहरू गर्न राज्यले लगानी बढाउनुपर्छ।
बाबुआमाको चेतना र विवेकले बुझ्न सक्नुपर्छ, “सन्तानमाथिको लगानी त्यागको भावले गर्नुपर्छ भने सन्तानहरूले बुझ्नुपर्छ, बाबुआमाको त्यागलाई सम्मान गर्दै उनीहरूको अपेक्षाहरूलाई सम्बोधन गर्न प्रत्यक्ष योगदान गर्न पनि सक्नुपर्छ। परदेशिने संस्कृतिमा रमाएर विप्रेषण पठाएर जिम्मेवारीबाट मुक्त हुने चिन्तन त्याग्नुपर्छ। राज्यले पनि नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीतिहरू त्यागेर देशमुखी नीति बनाउनुपर्छ।”
पहिले हामी सहस्राब्दी विकास लक्ष्य त अहिले दिगो विकासको लक्ष्यमा फसेका छौँ। वास्तवमा यति बेला हामी राष्ट्रिय विकासका लक्ष्यहरू निर्धारण गरेर अघि बढ्नुपर्छ। आयातित नारा र अनुदानको पछि लागेर अनि दातामुखी नीति अपनाएर देश समृद्ध बनाउन सकिदैन् । देश समृद्ध बनाउन हाम्रो आफ्नै नीति, आफ्नै पुँजी र आफ्नै श्रम र प्रविधिको प्रत्यक्ष योगदान हुनुपर्छ। बाह्य पुँजी, प्रविधि र योगदानले समृद्धिमा सुरुवाती सहयोग गरेता पनि यसले समृद्धिको बलियो आधार बनाउन सक्दैन र दिगो पनि हुँदैन। अहिले नेपालमा भइरहेको पनि त्यही हो। जुन हामीले बुझ्नुपर्छ।
देश र परदेशमा बस्ने सच्चा नेपालीहरूले बुझ्नुपर्छ, विचारहीन राजनीति र चरित्रहीन पात्र र प्रवृत्तिहरूलाई अघि लगाएर नेपालको राजनीति देशमुखी र वैचारिक बन्दैन। यस्तो राजनीतिले कति बेला जेलेन्स्की वा हमित कारजाई पथ लिन्छ भन्नै सकिन्न। यति बेला युक्रेन र अफगानिस्तानका जनताले पाएका दुःखबाट सिकेर प्रगतिशील लोकतान्त्रिक राजनीति बलियो बनाउने भूमिका निर्वाह गर्नुपर्छ न कि भ्रम, प्रलोभन र प्रभावमा परेर देशको भविष्य अन्धकार बनाउने राजनीति। तर हामीलाई भ्रममा पारेर भावनात्मक रूपमा भड्काएर गलत राजनीतिको पक्षमा उभ्याउन खोजिँदै छ।
सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकियो भने नेपालमा मानसिक र आर्थिक गरिबी हट्न थाल्नेछ र नागरिक पलायनको संस्कृति कमजोर बन्नेछ। तर कम्फर्टेबलवादी र लोकप्रियतावादीहरू नेपालमा गरिबी कायम राख्ने राजनीति गरेर नेपाल समृद्ध र बलियो बन्न नदिने रणनीतिको सहयोगी बनिरहेका छन्। यो सत्य जनतासमक्ष पुर्याउन सकिएको छैन किनभने हाम्रा प्राज्ञिकहरू देशको स्वार्थमा क्रियाशील हुन सकेनन् र गलत भाष्य स्थापित गर्ने मुख्य भूमिकामा देखिए। जबकि प्राज्ञिकहरू सत्य र प्रगतिको पक्षमा उभिएर नकारात्मकता हटाउन र समाजको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन मुख्य सहयोगी बन्न सक्नुपर्थ्यो।
“समृद्धि सिद्धान्तको मुख्य संरक्षक हो।” यो तथ्यलाई मध्यनजर गरेर प्रगतिशील लोकतान्त्रिक राजनीतिमार्फत देश समृद्ध र बलियो बनाउन एमालेले आफ्ना गतिविधिहरू अघि बढाउनुपर्छ। नेतृत्वले आदर्शअनुरूपको आचरण पनि देखाउन सक्नुपर्छ।
प्रकाशित मिति : १६ पुस २०८०, सोमबार ९ : १३ बजे
प्रतिक्रिया