लेखक माधवी भट्ट र अबोला एमाले 

प्रसिद्ध लेखक माधवी भट्टको कान्तिपुर पुस १   गते,बोली लोकतान्त्रिक व्यवहार हैकमवादी नामको लेख मैले पढेँ । वार्षिक ग्राहक भएकाले घरको खाली समय खेर जाँदो रहेनछ अथवा  पढिँदो रहेछ । त्यस  लेखमा भट्टले एमाले पार्टीलाई अन्य पार्टी भन्दा पनि खतम भन्ने आशय व्यक्त गरेको रहेछ । डा. पोखरेलसित त्यस लेखका बारेमा प्रश्न गर्दा उहाँले पढिसक्नु भएको रहेछ । अनि मैले यस्ता खालका तथानामी फतुर आरोप एमालेमाथि लगाउँदा चुप्प लागेर त बस्न नहुने केही लेख्ने कि भनेँ तर उहाँले यतिविधि .महिला नेता, मोर्चा संगठनका नेता, संघ र प्रदेशका प्रतिभाशाली सभासद् छन् । तीनले केही पनि लेख्न नहुने र नमिल्ने त होइन होला । अमुक एक जनाले  मात्र  खसखस र सकसक  गर्नु जाती हुन्न   । उहाँले भारतीय एक महान् नेताले पुष्पलाललाई नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्नु प¥यो तपाईँहरुले सरसहयोग गरिदिनु पर्छ भन्दा  तिम्रो देशका जनता चाहिँ  कम्युनिस्ट पार्टी खोल्न चाहन्छन् भने खोल नत्र धेरै सकसक नगर धेरै दुःख नगर भनेको कुरा उदाहरणसहित सुनाउनु भयो । विरोधीहरुले मनमौजी तरिकाले आम जनतालाई भड्काउने खालका कुरा र लेखलेखि रहँदा चुप्प लागेर बस्न त मिल्ने र सुहाउने कुरा होइन । खासै कामको चापाचाप पनि छैन । सभासद् नै भए पनि समय पर्याप्त नै हुन्छ । लेख्न पढ्न चाहँदा समय नै समय हुन्छ । समय सदुपयोग गर्दा आफ्नू मात्र होइन समाजलाई सन्देश दिने खालको काम गर्न सकिन्छ । जगिर मात्र होइन नि ती पदहरु । पार्टीका विरुद्ध नानावली लेख र विचार प्रवाह गर्दा काम लागिएन भने हामी कहिले काम लाग्ने होला । आफू त्यस खालको कुनै पत्यारिलो जिम्मेवारी नपाए पनि चुप्प लागेर बस्न सकिएन ।     त्यसैले  माधवी भट्टका गलत आशयका लेखका बारेमा दोहारी गर्न मन लाग्यो ।  

बजारमा सबै जोगी कानचिरिएका भन्ने  गलत सन्देश  फैलाइएको छ ।  जनतामा आशा होइन निराशा फैलाइएको छ ।  अलिकति भए पनि आशा लाग्दा काम भएका छन् भने त्यसलाई समाजमा सञ्चार गर्नु पर्छ । त्यसो गरिएन भने  नेपालका सबै पार्टी र नेतभ्रष्ट र नालायक भन्ने खालका कुरालाई बल पुग्छ ।  

माधवी भट्टले आफ्नू लेखमा आम निर्वाचनको पूर्व सन्ध्यामा एमालेले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर राप्रपासित चुनावी गठबन्धन गरेको  सतही कुरा बताउनु भएको रहेछ । गठबन्धन देश र जनताका हितमा पनि हुन्छ र नेका र माओवादीका बीचको गठबन्धन भारत अनुकुल वा कन्फर्टेवल सरकार  हो । यो कुरा परिणामबाट स्पष्ट भयो होला । एमाले पार्टीले पश्चिम नेपालका कालापानी र लिपुलेक नेपाली भू–भाग नेपाली नक्सामा सामेल गर्न सबै पार्टीलाई समावेश गरेको होइन । आवश्यक पर्दा देशको स्वाधीनता अखण्डता बचाउन  सबै पार्टीे र शक्ति मिल्नु पर्छ । राजा, प्रजा र पार्टीहरु सबै मिलेर देश जोगाएको इतिहास भट्टजीले पढ्नु भएकै होला । अनि यति समान्य कुरा बुझेर र बुझ पचाएर एमाले विरुद्ध नानाभाती लेख्नु् र बोल्नु तपाई आमा पनि भएकाले पटक्क सुहाएन । आमा त कहिल्यै कुमाता हुन्नन्  नि । यसरी गुहु र गोबरको फरक नछुट्याई तपाईले लेखेका कुरा तपाई कै सन्ततीले स्वीकार गर्दैनन् । नीति र सिद्धान्त मिल्यो भने राप्रपा एमाले एउटै पार्टी बनिहाल्थे नि । त्यस्तो त होइन  त । माओवादी  र माकुने समूहलाई उचालेर उकासेर ठूलो लगानी गरेर एमाले पार्टीलाई खरानी पार्छु,यस पार्टीको अस्तित्व समाप्त पारिदिन्छ्ु जस्ता कुरा मात्र गरेनन्,  काम गर्ने तयारी देश र विदेशबाट  गरिएको थियो । यो कुरा सतही रुपमा हेर्दा  एमाले पार्टीलाई कमजोर पार्ने मात्र होइन ,  देश र जनताको हितमा काम गर्नै नदिने अनि आखिरमा देशलाई उक्सिनै नसक्ने गरी खाल्टामा हाल्ने कुनियत थियो  । अनि राष्ट्रघाती र जनघातीलाई रोक्न र छेक्न तथा देशलाई रसातलमा पु¥याउन नदिन  एमालेले गठबन्धन गर्नु परेको हो । गठबन्धन सरकार बनेपछि देश र जनताको अवस्था दिनदिनै कठिन हुन थाल्यो । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसामु नै भाषण गर्ने क्रममा  अहिलेको सरकारले  जनताका छाला काडेर सुकाई बेचीखान बेर छैन भन्नु भयो । हुन पनि यतिसम्म नालायक सरकार कहिले पनि थिएन होला । ओली सरकारका पालामा ३ प्रतिशत महँगी थियो अहिले बढेर ८ प्रतिशत भन्दा माथि रहेको छ । प्रदेशमा ७, ८ मन्त्रालय भएका ठाउँमा १४ मन्त्रालय बनाइयो ।

जोका दिनामा पूर्व राष्ट्रपति भण्डारीलाई नानाथरि आरोप लगाउने तपाइँहरु अहिले वर्तमान राष्ट्रपति पौडेलले पहिलो भाषण हिन्दीमा गरेको, बुद्ध भारतमा जन्मिएको भन्दा नागरिकता प्रकरणमा जाली कीर्ते गर्दा सही गर्दा र हत्यारालाई माफी मिनाहा गर्दा खुसी नै हुनुहोला । एउटी आमाले यसरी देश र जनता विरुद्ध गरेका कामहरु बारे एक शब्द आलोचना नगरी चुपचाप  समर्थन गरेको देख्दा अचम्म लाग्छ । यो ठगबन्धन सरकार महाकालीमा भारतीयले तुइन चुडाएर मारिएका नेपाली नागरिक जयसिंह धामीका बारेमा बोल्नै सकेन तर एमालेको सरकार भएको भए कम्तीमा भारतले क्षतिपूर्ति भन्नु पथ्र्यो ।  नेपाली नक्सामा समावेश गरिएको पश्चिम नेपालको नेपाली भूभाग ल्याउने बारे यो सरकार  एक अक्षर बोलेन । भारतले नेपाली भूभाग समावेश गरेर बृहत्तर भारत भनी आफ्नू नक्सा जारी गर्दा  भट्टजीको यो सरकार चुइक्क बोलेन । कालापानी  क्षेत्रमा भारतीय प्रधानमन्त्री घुमेर जाँदा थाँहा नपाएझैँ गर्ने देश र जनता विरोधी काम गर्ने सित एमालेलाई एउटै तराजुमा जोख्न मिल्छ र भट्टजी । यही विषयलाई आधार बनाएर एमालेको राजतन्त्र विरोधी हुङ्कारलाई जनताले कुनै महत्व दिएका छैनन् भन्नु भएको छ लेखक भट्टले । राप्रपासित एमालेले पार्टी एकीकरण गरेको हो र ? चुनावका लागि मात्र तालमेल गरेको होे नि  । सैद्धान्तिक गठबन्धन त होइन नि । चिहान पु¥याइएको बालुवाटाहार जग्गा प्रकरण खोतल्ने एमाले नेतृत्वको ओली सरकार हो नि  । यसले खोजबीन गरेर माधव नेपाल जानु पर्ने अवस्था आएको थियो तर ठगबन्धन सरकारले  तत्कालीन प्रधानन्याधीश  चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाएको थियो । यो त एउटा नमूना मात्र हो । यस्ता धेरै राम्रा काम ओेली सरकारले गरेको त तपाईले भन्नु हुन्न र मिल्दैन होला ।   किनभने प्रसिद्ध गायिका भिक्षु आनी छोइङ डोल्माले तुइन विस्थापित गर्ने पूर्व प्रधानमन्त्री ओली सरकारलाई एक करोड सहयोग गर्नु भएको थियो ।   त्यसको तपाईंहरुले उखपात विरोध गर्नु भएको विषयको आनीको अन्तर्वार्ता मैले सुनेकी थिएँ । एउटी आमाले यतिसम्म दुराग्रही बन्न सुहाउँदैन । आमा जत्तिको सिर्जनशील अरु कोही हुन्छन् र देवकोटा र बुद्ध जस्ता शिखर पुरुष जन्माउने आमाहरु यति  निकृष्ट हुँदैनन् । हुन त पुतना जस्ता आमाहरु पनि हुन्छन् । मुख्यत ः आमा जननी हुन् र सिर्जनाकी खानी हुन् । आमाको छाती रसिलो हुन्छ  र हुनुपर्छ ।  आमाको छाती कहिल्यै बैगुनी हुनुहुन्न । आमाले कुपुत्रलाई कहिल्यै प्रोत्साहित गर्दिनन् तर तपाईहरु धन्धकारीको स्तुति गान गरिरहनु भएको देख्दा छक्क पर्छु म । जब सृष्टिमा खोट हुन्छ जीवन खोटैखोटले भरिएको हुन्छ ।  

माधवी भट्टले आरजु देउपाजस्ता प्रमाणित सुनकाण्डका नायक नायिकाबारे मुख खोल्नु भएको छैन लेखमा तर उहाँ अत्यन्त पुर्वाग्रह र दुराग्रहबस पूर्व गृहमन्त्री राम बहादुर थापा,बादल,प्रेम कुमार राईलाई अनुसन्धानकै दायरामा ल्याइएन भनेर रोइलो गर्नु हुँदो रहेछ लेखमा ।  भ्रष्टाचारीलाई जोगाउन अनुसन्धानमा संलग्न  प्रहरी र न्यायाधीशलाई तेजोबध गर्न गरियो र यी सब काम सबै नेता कोठे बैठकमा एक मत भएको भन्दै एमाले र ओलीलाई मुच्छ्न खोज्दै हुनुहुन्छ माधवी भट्टजी ।  यो सरकारका चरम भ्रष्टाचार र अनियमितता बारे दिनदिनै समाचार प्रकाशित भएका छन् । २०८० पुस  गतेको कान्तिपुरमा विमान स्थलको शौचालयको  दराजमा सुन तस्करसितै  चाबी रहेको समाचार प्रकाशित भएको थियो । प्रचण्डले  मेरा परिवारलाई एनसेल प्रकरणमा मुच्छ्नु गणतन्त्रकै विरुद्ध हो भन्ने जस्ता अत्यन्त तल्लो स्तरका कुरा गर्दा माधवीजीलाई  कस्तो लाग्दो हो ? अलिकति पनि सकार र नकार छुट्याउने क्षमताको मानिसले सहीलाई पनि गलत नै भन्न कसरी सक्दो हो ? अनि  एमाले र यसका अध्यक्ष ओली विरुद्ध नानाभाँती  फरेबी र फजुल कुरा गर्दा र लेख लेख्दा एमाले जन कोही किन बोल्दैन ? अचम्म लाग्छ । गलत कुरा बजारमा गइरह्यो भने त्यसले समाजमा गुँड बनाउँछ  र घर नै निर्माण गर्छ । कम्तीमा गलत कुराको खण्डन गर्नैपर्छ ।

ओलीले एक पटक   आफ्ना विरुद्ध फरेबी प्रचार गर्दा आक्रामक रुपमा सबै एमाले बारुलो भएर लाग्नु पर्छ भन्नु भएको थियो । यसको अर्थ देशी विदेशी प्रतिक्रियावादीका एमालेका अनेक सकारका विरुद्ध आक्रामक रुपमा लाग्नेहरुलाई लेखेर बोलेर र बहस गरेर तर्क संगत रुपमा  प्रतिवाद गर्न आह्वान गनुृ भइएको थियो । तर यस्ता निर्देशन राम्ररी पालना भए जस्तो लागेन । जब आफैँ आफ्नो प्यारो पार्टी र यसको प्रमुख नेता विरुद्ध बारबार आक्रमण हुँदा हात बाँधेर बस्नेले कसरी आफूलाई बचाउँछ र जोगाउँछ । एउटा संगठित अगुवा सदस्य चामल पनि बेच्न सक्तैन भने बजारमा पिठोको बिक्री भइरहन्छ । पुरुष लेखक त अलिअलि  देखिन्छन् । त्यो पनि अत्यन्त कम हो । अझ महिला लेखक उत्पादन गर्ने कुरामा खासै ध्यान दिएजस्तो लाग्दैन । भएका महिला लेखकलाई नै प्रोत्साहनको अभाव छ । बोल्न र गलत कुराको प्रतिवादसम्म पनि नगर्ने एमालेलाई अबोला भन्दा के फरक पर्छं र चुस्त दुरुस्त र प्रभावशाली कार्यकर्ता र नेता नै पार्टीका उर्वर उर्जा हुन् । व्यवहारबाट त्यस्तो उर्जा देखिनु पर्छ । आफ्ना अत्यन्त राम्रा र उदाहरणीय काम पनि प्रचार गर्न नसक्ने अनि आफूलाई बारबार गलत भनेर दपेट्ने विरुद्ध आवाज बुलन्द नगर्ने अबोला एमालेले आफूलाई बेलैमा सच्याउनु पर्छ । आफैँ नसच्चिइ पार्टीलाई सबल र सक्षम बनाउन सकिन्न ।

नेताका सामु पर्दा पार्टी थाम्ने मैँ हुँ भनेझैँ गरेर तीन बित्ता उफ्रिने कतिपय नेता र कार्यकर्ता अरुबेला नुन खाएको कुखुरो जस्तो चुपचाप देख्दा अचम्मको सरम लाग्छ ।   देश र जनताका हितमा राम्रा कामहरु गर्ने तर त्यसको आम जनसमक्ष राम्ररी प्रचार प्रशार नहुनु जस्तो कमजोरी अरु के हुन्छ र । सयथुकी नदी बनाउने शक्ति राम्ररी परिचालित दुःख लाग्दो कुरा हो । यस्तो एमालेलाई बोला एमाले भन्दा अबोला भन्न नै  सुहाउँछ । 
इटहरी निवासी लेखक अनेम संघ,केन्द्रीय सल्लाहकार हुनुहुन्छ । 
 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ४५ बजे